नेपाल आइडल सिजन -५ फागुन २५ बाट सुरू हुँदै, १५२ प्रतिस्पर्धी सहभागी हुने

नेपाल आइडल सिजन -५ फागुन २५ बाट सुरू हुँदै, १५२ प्रतिस्पर्धी सहभागी हुने

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल आइडल सिजन-५ फागुन २५ गतेबाट सुरू हुने भएकाे छ । बुधबार पत्रकार सम्मेलन आयाेजना गर्दै आइडलकाे सम्पूर्ण तयारी भइसकेकाे र फागुन २५ बाट सुरू हुने आयाेजकले जानकारी दिएकाे हाे ।

नेपाल आइडल सिजन- ५ मा अघिल्ला सिजनभन्दा विशेष किसिमकाे हुने आइडलका निर्देशक सुरेश पाैडेलले जानकारी दिए । उनकाअनुसार विभिन्न ठाउँबाट १५२ जना प्रतिस्पर्धी आइडलमा सहभागी हुनेछन् । ‘यसपटककाे नेपाल आइडल फरक र विशेष किसिमकाे हुने छ, याे प्लेटफर्म युवा पुस्ताकाबीच अवसर पनि हाे, आइडलले नयाँ गायक साथै लुकेका प्रतिभालाई उजागर गर्नमा मदत पुर्याउने छ,’ उनले भने ।

जज राउण्डबाट छानिएका १ सय ५२ जनाले आगामी चरणका लागि प्रतिस्पर्धा गर्नेछन्‌ । यसअघि आइडलमा १२०/ १३० जना सहभागी हुँदै आएका थिए । नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रसारण हुने छ । नेपाल आईडल सिजन पाँचको निर्णायकमा सुरुका तीन संस्करणसम्मका अनुभवी व्यक्तित्वको पुनरागमन भएको छ । पाँचौं संस्करणमा पनि पहिलो, दोश्रो र तेश्रो संस्करणका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन् ।

निर्देशक पाैडेलले हालसम्म विभिन्न नेपाल आइडलमा १२ हजारकाे गीत गुञ्जिसकेकाे बताउँदै सिजन ४ सम्म गाडी, नगद गरेर करिब ४ कराेडकाे पुरस्कार दिइसकेकाे पनि बताए । उनले नेपाल आइडलका १२० भन्दा बढी एपिसाेड प्रसारण भइसकेको पनि बताए ।

यस्तै, नेपाल आइडलका निर्णयक न्ह्यु बज्राचार्यले यस पटकको आइडल उत्कृष्ट हुने बताए । ‘हामीले विभिन्न ठाउँमा पुगेर गायक छनाैट गर्दा अनेकौं प्रतिभाहरू भेटिए, त्यसमध्ये पनि उत्कृष्ट गायक छनाेट गरेका छाैं, उहाँहरूकाे प्रस्तुति दमदार हुने छ ।’ याे प्लेटफर्म युवाकाे लागि अवसर हुने उनकाे भनाई छ ।

झापाको विर्तामोड, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुर्खेतको विरेन्द्रनगर, दाङको घोराही र कास्कीको पोखरापछि संघीय राजधानी काठमाडौंमा भव्यताका साथ ओपन अडिशन भएको थियो । यससँगै डिजिटल अडिशनबाटसमेत प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेतामा क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाई र भूपेन्द्र थापामगर रहेका छन्‌ ।

Logo