भजन शिरोमणि भक्तराज आचार्यको जीवनकथामा आधारित चलचित्र ‘आचार्य’ पुनः रिलिज हुने

भजन शिरोमणि भक्तराज आचार्यको जीवनकथामा आधारित चलचित्र ‘आचार्य’ पुनः रिलिज हुने

केन्द्रबिन्दु
70
Shares

स्वर्गिय भजन शिरोमणि भक्तराज आचार्यको जीवनकथामा निर्मित चलचित्र ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शन हुने भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पुनः प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

गत फागुनमा निधन भएका वरिष्ठ गायक तथा संगीतकार आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ आगामी असार ७ गते नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विश्वव्यापी सेभेन सिजले प्रदर्शन गर्न लागेको हो ।

फिल्ममा गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराजले निर्वाह गरेका छन् । उनी सिनेमाका निर्माता पनि हुन् । पहिलो पटक सिनेमा रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले कार्यक्रममा बताए । उनका अनुसार फिल्ममा धेरै कुराहरु नयाँ सुटिङ गरिएकाले फिल्मलाई नयाँ जसरी नै रिलिज गरिनेछ । जहाँ रिलिजको दुई दिन अघि अर्थात असार ५ गते फिल्मको भव्य प्रिमियर गरिने पनि उनले बताए ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको सिनेमामा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ललगायतको अभिनय रहेको छ ।

बुवालाई श्रद्धाञ्जलीस्वरुप सिनेमा पुनः रिलिज गर्न लागेको कान्छा छोरा स्वरुपराजले बताए । ‘सायद त्यो बेला यो सिनेमाका लागि सही समय थिएन । अहिले एकदमै उपयुक्त समय लागेकाले सिनेमा पुनः रिलिज गर्न लागिएको उनले बताए ।

सिनेमामा गायक आचार्यको जीवनका अनेक पाटाहरु केल्याइएको छ । उनले पाएको सफलता, गरेको संघर्ष र भोगेका दुःखको कथामा सिनेमा निर्माण गरिएको छ । २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर दुबै गुमेको थियो सोही घटनालाई यो सिनेमाले देखाउँछ ।

सिनेमाको पुनः रिलिज घोषणा कार्यक्रममा संगीतकार लक्षण शेष, चेतन सापकोटा, वसन्त सापकोटालगायतका थुप्रै कलाकारहरुको उपस्थिति थियो । निर्माण टीमका अनुसार सिनेमाको ट्रिमिङ तथा पुनः सम्पादनको काम टुल्की निर्देशक देवजंग थापाले गरेका हुन् । सिनेमामा भजन शिरोमणि तथा वरिष्ठ गायक भक्तराज आचार्यको निधनपश्चातका फुटेजहरु पनि समावेश गरिएका छन् ।

Logo