रिलिजअगावै फिल्म ‘ज्वाइँ साब’को क्लाइमेक्स सिन बाहिरिएपछि…

रिलिजअगावै फिल्म ‘ज्वाइँ साब’को क्लाइमेक्स सिन बाहिरिएपछि…

केन्द्रबिन्दु
642
Shares

काठमाडाैं । नेपालीहरुको महान् चाड दशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीका बीच फिल्म ‘ज्वाइँ साब’को एक महत्वपूर्ण दृश्य सार्वजनिक भएको छ । रिलिज अगावै फिल्ममा समावेश सो दृश्य सामाजिक सञ्जाल टिकटकमा आएको हो ।

१५ सेकेण्ड लामो सो दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुटिङ गर्ने बेलाको हो । सुटिङका बेला दर्शकले भिडियाे खिचेर टिकटकमा सार्वजनिक गरेको देखिन्छ । कमेडी जनरामा बनेको फिल्मको त्यो भावुक दृश्यले दर्शकहरुको ध्यान तानिरहेको छ। सार्वजनिक भिडिओमा फिल्मका मुख्य कलाकार जितु नेपाल र नीति शाहलाई देख्न सकिन्छ।

जितुले सेतो पहिरनमा हातमा बच्चा बोकेका छन्। निलो ब्याग बोकेका उनको हातमा पार्टपोर्ट पनि छ। त्यस्तै, खादासहित नेपालको झण्डा बोकेर उभिएकी नीति भिडियोमा भावुक देखिएकी छिन्। भिडियो हेर्दा बिदाइको दृश्य रहेको अनुमान लगाउन सकिन्छ ।

वसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाइँ साब’ फूलपातीमा दीपकराज गिरी, दिपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ५’ र कुनैबेलाका कहलिएका अभिनेता विराज भट्टको निर्माण र उनका छोरा समीर भट्टले डेब्यू गरेको फिल्म ‘१२ गाउँ’सँग जुध्दैछ । त्यसैबीच फिल्मको कथालाई नै समेट्ने महत्वपूर्ण दृश्य सार्वजनिक भएपछि फिल्म निर्माण टोली तनावमा परेको छ । हालसम्म कुनै कानूनी उपचार भने खोजी सकेको छैन । तर, बहुप्रतिक्षित फिल्म नै भिड्नुपर्दाको अवस्थामा यसरी महत्वपूर्ण दृश्यहरु लिक हुँदा केही असर त पर्छ नै । अझ महत्वपूर्ण कुरा, पहिले दीपकराज गिरीको टिम र जितु नेपालको टिम एउटै भए पनि अहिले प्रतिस्पर्धात्मक हिसाबले एकै मितिमा रिलिज हुँदा फ्यान बाँडिने सम्भावना पनि छ ।

यस फिल्ममा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गरेका छन्, भने बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।

Logo