काठमाडौं । नीता ढुंगाना र हरिहर अधिकारी स्टारर फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा हालसम्म साढे तीन करोड बढीकाे व्यापार गरेको छ ।
गत शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको यस फिल्मले मंगलबारसम्म घरेलु बक्स अफिसमा तीन करोड ६५ लाखको व्यापार गरेको निर्मात्री एवं अभिनेत्री ढुंगानाले जानकारी दिइन् । यसबाट नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाई गरिरहेको ‘पूर्णबहादुरको सारङ्गी’को बीच ‘ह्रस्व दीर्घ’ले पनि घरेलु बक्स अफिसमा सुखद् कमाइलाई निरन्तरता दिइरहेको बुझ्न सकिन्छ । सोमबार पनि सार्वजनिक बिदामा फिल्मले दर्शकको राम्रो साथ पाएको थियो । आज मंगलबार पनि उस्तै राम्राे छ ।
चन्द्र पन्त निर्देशित फिल्ममा फिल्ममा हरिहर अधिकारी, निता ढुङ्गानाका अलावा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्माको अभिनय छ । यो फिल्मको प्रवर्द्धन र दर्शकहरुको साथको लागि भारतीय अभिनेता प्रदीप रावत यतिबेला नेपालमै छन् ।
यसैगरी प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसीलगायतको पनि अभिनय छ । अभिनेत्री बिपना थापाले यो फिल्मबाट १६ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन्। फिल्मको टिम हल पुग्दा दर्शकले ताली र सिट्टीले स्वागत गर्दै ह्रस्व दीर्घको दोस्रो भागको माग समेत गरिरहेको देखिन्थे। फिल्मले दर्शकीय प्रतिक्रिया राम्रो पाएको देखिन्छ । कथावस्तु, ट्विस्ट एन्ड टर्न, कलाकारहरुको अभिनय, द्वन्द्व, मेकिङ पक्षलाई रुचाइएको छ ।
निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नीताकै लगानी रहेको यो चलचित्र अब तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ । यसको निर्माण लागत ६ करोड रहेको जनाइएको छ ।





























प्रतिक्रिया