काठमाडाैं । १७ प्रतिस्पर्धात्मक विधामा अवार्ड र ५ सम्मान तथा १० सांगीतिक प्रस्तुतिका साथ १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ।
विन्ध्यवासिनी फाउन्डेसनको आयोजना तथा मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न समारोहमा जुन माया बोलको गीतले सर्वोत्कृष्ट गीतको अवार्ड चुम्यो भने सुगम संगीततर्फ राज सिंग्देलले हृदयमा बोलको गीतबाट गायक, उषा गजुरेलले मौसम आउलाबाट गायिका, श्रीधर अधिकारीले छौं नि तिमी आहाबाट संगीतकार, वैकुण्ठ महत र बेनिशा पौडेलले पिरिम गाडीबाट युगल गायन तथा विनोद श्रेष्ठ र उषा सुवेदीले विदाई २ बाट मोडल जोडीको अवार्डलाई आफ्नो बनाए।
त्यसैगरी अर्जुन सापकोटाले बस्यौ अलक्कैबाट लोकदोहोरी गायक, कविता खत्रीले नमस्ते ढोगदियाबाट लोकदोहोरी गायिका, खेम पुनले मर्ने सुई लाइदेउबाट लोकदोहोरी भाका, नारायण ज्ञवालीले कन्या राशीबाट लोकदोहोरी गीत रचना, निशान बानिया“ले भाग्यमै रुन लेखेकोबाट लोकदोहोरी भिडियो निर्देशकको अवार्ड चुमे भने पल शाह र नारायणी खत्रीले काइलाबाट लोकदोहोरी मोडलको अवार्ड चुमे।
विशाल घिमिरेले मेरी बाठी मायाबाट आधुनिक भिडियो निर्देशन, अमृत चापागाईँले मायालीबाट भिडियो सम्पादक र पवन सुस्लिङले मायालाई पानको पातबाट छायाँकारको अवार्ड चुम्दा प्रेम सापकोटा सोनुले अरु त के भनु मायालुबाट गायनतर्फ को नवप्रतिभाको अवार्ड चुमे। त्यस्तै जुना विश्वकर्माले माया आउने बसबाट पब्लिक च्वाइस अवार्ड र सोही गीतबाट अनिल पौडेलले पपुलर अवार्ड चुमे।
त्यस्तै जूरी अवार्डतर्फ भने नेपालमा रेल कहिले आउलाबाट स्मृति तिमल्सिनाले निर्देशक, कुरा बुझिदेउनबाट सञ्जय देवकोटाले गायक, हारे मैले मायामाबाट विक्रम बुढाथोकी र एलिना रायमाझीले अभिनय, तल्लो बाटोबाट खेम सेन्चुरीले संगीतकार र दुःख साटम्लाबाट सन्तोष सापकोटाले गीतको अवार्ड चुमे।
समारोहमा गीतकार राजेन्द्र थापालाई नगद एक लाख रुपैयाँ हित विन्ध्यवासिनी म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८१ बाट सम्मानित गरिएको छ।
त्यसैगरी गायिका संगीता शाक्यलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी संंगीत साधना सम्मानबाट सम्मानित गरिएको छ भने गायिका निशा देसारलाई २५ हजार रुपियाँसहित प्रेमध्वज संगीत रत्न सम्मानबाट सम्मानित गरिएको छ। समारोहमा पत्रकार शारदा थापालाई २५ हजार रुपियाँसहित विन्ध्यवासिनी कला पत्रकारिता सम्मान र लोक गायक शिरीष देवकोटालाई २५ हजार रुपैयाँसहित झलकमान लोक संगीत सम्मानबाट सम्मानित गरिएको छ।
कार्यक्रममा गायक दुर्गेश थापालाई विशेष सम्मान गरिएको थियो। सो अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गीतकार राजेन्द्र थापाको सम्मानमा विभिन्न गायक गायिकाले उनीद्वारा रचित गीत प्रस्तुत गरेका थिए।
गायक सुमन कुमारले पर लैजाउ फूलहरु, गायिका बिन्दु परियारले पोहोर साल खुशी फाट्दा तथा गायक डेबिट शंकर र गायिका विन्दु परियारले पहिलो नम्बरमा बोलको गीत प्रस्तुत गरेका थिए। त्यस्तै, गायिका माण्डवी त्रिपाठीले संगीता शाक्य थापाको सम्मानमा मै गोरीलाई बोलको गीत गाएकी थिइन्।
लाखे नाचबाट शुरु भएको समारोहमा नायक पल शाह र गायक दुर्गेश थापा एउटै मञ्चमा प्रस्तुत भए। पल शाहले नारायणी खत्री र कोरस कलाकारका साथ आफ्ना चलेका गीतमा नृत्य प्रस्तुत गरे भने दुर्गेशले ग्लोबल ट्रेन्डिङमा परेको आफ्ना गीत दुश्मन हेरेको हेर्यैमा कोरसका कलाकारका साथ पर्फर्मेन्स गरे। गायक गायिका शिरिष देवकोटा र निशा देसारले गीत संगीत प्रस्तुत गरेका थिए भने रुबिना अधिकारी, रबिना भण्डारी, दीप गुरुङ र टिमलगायतले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले स्वागत मन्तव्य राख्दै आगामी वर्षबाट प्रतिस्पर्धाको विधा घटाई सबै विजयीलाई नगद पुरस्कारको ब्यबस्था गर्ने जानकारी गराइन्।





























प्रतिक्रिया