फूल र काफ्लेको त्यो अन्तरजातीय प्रेम

फूल र काफ्लेको त्यो अन्तरजातीय प्रेम

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । फूल र काफ्लेको अन्तरजातीय पे्रम र त्यसले निम्त्याउने सामाजिक र पारिवारिक द्वन्दको कथा हो, ‘ऊनको स्वीटर’ । सुन्दर पूर्वी पहाडी गाउँमा लेकतिर बस्ने फूल र बेसीमा बस्ने धरणीधरबीच बसेको गाढा मायामा उनीहरुको पृथक समाज र संस्कार तगारो बनेको छ ।

अन्तर्मुखी स्वभावको धरणीधर र चञ्चले स्वभावकी फूलबीच बिस्तारै हुर्किँदै गरेको पे्रमले कुन मोड लिन्छ ? उनीहरु एक हुन केके चुनौतीहरु सँग लड्छन् ? के यिनीहरुको प्रेमले सँगै फुल्ने र फक्रिने मौका पाउँछ ? त्यो थाहा पाउनलाई भने चलचित्र हेर्न पर्ने हुन्छ । धरणीधरको पात्रमा विपिन कार्की र फूलको पात्रमा मिरुना मगरको अभिनय स्वाभाविक र जीवन्त लाग्छ । विपिनले थोरै शब्दमा, आफ्नो हाउभाउ र क्रियाकलापले नै धरणीधरलाई बाचिदिएका छन् । मिरुनाले पनि गुरुङसेनी फूलको चुलबुलेपन र निर्भीकतालाई उसैगरी आत्मसात गरेकी छन् ।

फिल्मको छायाँकन पनि परिवेश अनुसारको मनै लोभ्याउने र कलकल बग्ने खोलीझैं बगेको देखिन्छ । लेकतिर अविरल लागिरहने कुहिरो र हरिया डाँडा पाखाले दर्शक आफै पनि त्यहीँ उपस्थित भएको भान गराउँछ । रंग संयोजनले फिल्मलाई अझ सुन्दर र आकर्षक बनाँउछ । यस फिल्मको अर्को दमदार पक्ष सुजन चापागाँईको जादुयी र मखमली स्वर हो । उनले आफ्नो आवाजले फिल्मलाई अझ वजनदार बनाइदिएका छन् । बहुचर्चित गीत ‘ धान सुक्यो रापले, फकाउँछ काफ्ले’ ले पनि रमाइलो प्रदान गर्छ । ५० को दशकको समय र परिवेश देखाउनलाई फिल्ममा देखाइएका प्रप्सहरुले राम्रो भूमिका खेलेका छन् ।

फिल्मको कमजोरी भनेको सधैंझैं पटकथामा नै हो । फिल्ममा अझ बढी समय फूल र उसको चरित्र विकासलाई दिएको भए दर्शक अझ बढी उनीसँग नजिक हुन पाउँथे । त्यसो हुँदा अन्तिमतिर कथाले लिने मोडले सायद अझ बढी दर्शकको मन कटक्क हुने थियो । फिल्मको एउटा गीत ‘चाइनेजो जिन्दगानीमा’ टुंगिए पछि अचानकै हुने घटनाले दर्शक ट्वाँ पर्छन् । कथाको तारतम्य बिग्रेको झैँ लाग्छ । फूलले बुनिदिएको स्वीटर खोज्ने प्रयास धरणीधरले पहिला गर्दै नगर्नु तर अन्तिममा आएर एक्कासी स्वीटर खोज्न लेकतिर निस्कनु पनि अस्वभाविक लाग्छ ।

सानैदेखि प्रेम गरेको फूललाई धरणीधरले किन त्यति सजिलै त्यागी दिए । किन उनले प्रखर प्रतिवाद गरेर आफ्नो प्रेमलाई बचाउने आँट गरेनन् । यो कुरा फिल्मा प्रष्ट छैन । न त उनीहरु छुट्टिने कारण नै सन्तोषजनक छ । केही अनावश्यक दृश्यहरु हटाएर, मुख्य र सहायक पात्रहरुबिच अझ गहिरो अन्तरसम्बन्ध देखाउन सकेको भए पटकथामा थप बढी मिठास आउने थियो । समग्रमा आफ्नो पहिलो चलचित्र ऊनको स्वीटरलाई निर्देशक नवीन चौहानले एकदमै माया र मेहनतका साथ बुनेका छन् । फिल्म हेरि सके पछि दर्शकलाई मनको कुनामा हल्का आनन्द भने पक्कै मिल्नेछ ।

Logo