काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सपना र समयको दस्तावेजका रूपमा रहेको बताएका छन् ।
शुक्रबार चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार एवं दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले कुनै देशलाई वास्तविक रूपमा बुझ्न त्यस देशको इतिहास मात्र होइन, त्यहाँका चलचित्रहरू पनि हेर्न आवश्यक हुने धारणा व्यक्त गरे ।
उनले भने, ‘चलचित्रको बारेमा कुरा गर्दा सामान्यतया यो एउटा मनोरञ्जनको माध्यम हो भन्ने हामीले बुझेका छौं । तर वास्तवमा चलचित्रलाई गहन अध्ययन गर्ने हो भने वा गहन दृष्टिले हेर्ने हो भने समाजलाई हेर्ने सामूहिक र सामाजिक स्मृति वा सपनाजस्तो र समयको दस्तावेज पनि हो कि जस्तो लाग्छ । कुनै देशलाई बुझ्नका लागि सामान्यत इतिहास पढ्नुपर्छ भन्ने गरिन्छ, तर मलाई लाग्छ कुनै देशलाई साँच्चै बुझ्ने हो भने त्यस देशका चलचित्रहरू नहेरी त्यसका सांस्कृतिक पहिचानहरू र साँचो तस्बिरहरू देख्न सकिँदैन जस्तो लाग्छ ।’
उनले चलचित्रमार्फत देशको सांस्कृतिक पहिचान र समाजको यथार्थ चित्र देख्न सकिने बताए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पछिल्लो दुई वर्षमा नेपाली चलचित्र उद्योगले ऐतिहासिक व्यापारिक सफलता हासिल गरेको जानकारी दिए । उनका अनुसार नेपाली चलचित्रको व्यापार एक अर्ब रुपैयाँभन्दा माथि पुगेको छ, जुन उद्योगका लागि सकारात्मक संकेत हो ।
अध्यक्ष डिसीले चलचित्र क्षेत्रले राष्ट्रलाई आर्थिक तथा सांस्कृतिक दुवै दृष्टिले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै चलचित्रसम्बन्धी विधेयक हाल ऐन बन्ने प्रक्रियामा रहेको बताए ।
उनले भने, ‘पछिल्लो दुई वर्षमा अहिलेसम्मकै रेकर्ड व्यापार चलचित्रले गरेको छ । एक अर्बभन्दा माथि नेपाली चलचित्रको व्यापार हुनु खुसीको सूचक हो। चलचित्रले राष्ट्रलाई आर्थिक र सांस्कृतिक रूपमा पनि ठूलो योगदान गर्छ। यतिखेर हाम्रो चलचित्र विधेयक ऐन बन्ने क्रममा छ ।’
सबै सरोकारवालासँग परामर्श गरी आवश्यक संशोधनसहित विधेयकलाई चालु बजेट अधिवेशनभित्रै पारित गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।
उनले चलचित्र क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन र विदेशमा चलचित्रबाट आर्जित आम्दानीलाई कानुनी माध्यमबाट नेपाल ल्याउन आवश्यक कानुनी व्यवस्था अभाव रहेको उल्लेख गरे। यसका लागि नयाँ ऐनले स्पष्ट नीतिगत व्यवस्था गर्ने अपेक्षा गरिएको उनले बताए ।
अध्यक्ष डिसीले देशभर सिनेमा हलको संख्या वृद्धि गर्न पनि योजना बनाइरहेको जानकारी दिए । यस विषयमा सम्बन्धित मन्त्रालयसँग गहन छलफल भइरहेको र निकट भविष्यमै हल विस्तारका लागि ठोस पहल हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘सिनेमा हलको संख्या बढाउनुपर्ने छ । त्यसका लागि केही योजनाका विषयमा माननीय मन्त्रीज्यूसँग गहन रूपमा छलफल गरिरहेका छौं। उक्त छलफलपछि नेपालमा हलको संख्या वृद्धि हुने गरी काम हुनेछ भन्ने ठानेका छौं ।’
राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को कुन विधामा को उत्कृष्ट ?
राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न आठ विधामा पुरस्कार प्रदान गरियो । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरे ।
नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ले तीन विधामा पुरस्कार जितेको छ । ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित हुनुका साथै उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक नवीन चौहान पाएका छन् । यसै फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् ।
उत्कृष्ट अभिनेताको पुरस्कार भने ‘परान’ फिल्मबाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गरेका छन् । उत्कृष्ट पटकथातर्फको पुरस्कार पनि परानले नै जितेको छ । पटकथाका लागि याम थापा र दीपक आचार्य पुरस्कृत भएका हुन् ।
उत्कृष्ठ छाँयाकनको पुरस्कार ‘कोशेढुंगा’ले पाउँदा उत्कृष्ट पुरस्कार पनि यसै फिल्मबाट नहकुल खड़काले प्राप्त गरेका छन् ।
यसै समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ । श्रेष्ठलाई ३ लाख ७५ हजÞार नगदसहित सम्मान गरिएको हो ।
‘रमिताको पिरती’बाट आना शर्मा र ‘झरी पछिको इन्द्रेणी’बाट बिमोचन दवाडीले जूरी प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
चलचित्र क्षेत्रका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ । यो सम्मान पाउनेमा प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, प्रदर्शक डाक्टर सिंह गुरुङ, अभिनेत्री मेनुका प्रधान, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा र सञ्चारकर्मी प्रकाश सुवेदी रहेका छन् ।
त्यसैगरी अभिनेत्री तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, प्राविधिक शंकर पाण्डे र स्वर्गीय पत्रकार दिनेश सिटौलाले पनि विशेष योगदान सम्मान पाएका छन् ।
लिम्बु भाषाको फिल्म ‘नामछोङ’ ले विशेष चलचित्र पुरस्कार २०८२ पाएको छ । उत्कृष्ठ आदिवासी फिल्मको पुरस्कार भने नेवारी फिल्म ‘इन्दिरा धिमे मैचा’ ले पाएको छ ।
राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को निर्णायक मण्डलको संयोजकमा वरिष्ठ अभिनेता हरिहर शर्मा रहेका थिए । सदस्यहरूमा निर्देशक मिलन चाम्स, वरिष्ठ फिल्म प्राविधिक अरुण थापा, अभिनेत्री सरिता गिरी र संकृतिविद् तथा प्राध्यापक अरुण गुप्ता रहेका थिए ।





























प्रतिक्रिया