सलिना महर्जनले जितिन् मिस नेवाः नेपाल ११४२ को उपाधि

सलिना महर्जनले जितिन् मिस नेवाः नेपाल ११४२ को उपाधि


काठमाडौं चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज चुमेकी छन्।

नेप्लीज फेसन होमद्वारा आइतबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आफ्ना १८ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको नेपाल टेलिकम मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन्। उनी प्रतियोगितामा मूख्य निर्णायक एनआरएन युकेका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठद्वारा सोधिएको काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के के गुण हुनु जरुरी छ? भन्ने प्रश्नमा सटिक र तार्किक जवाफ दिएर निर्णायक मण्डल तथा दर्शक र अभिभावकको मन जित्न सफल भएकी थिइन्। 

उनले  काठमाडौं महानगरपालिकाको मेयर हुन पहिला आफैं सक्षम हुनुपर्ने तथा नेतृत्व विकासको क्षमता हुनु पर्ने, नेवारी कला, संस्कृति र भाषाको प्रवर्द्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट सिटी मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सिमित नभई वास्तविकरुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन्।

उनलाई मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज पहिराईदिएकी थिइन्। सलिनाले मूख्य उपाधि चुमेवापत नगद एक लाख रुपियाँ प्राप्त गरेकी छन् भने नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दुत पनि नियुक्त भएकी छन्।

Logo