राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गरेकी छन् । यस कार्यका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरु आपसमा समन्वय गरेर प्रभावकारी रुपमा अघि बढ्न पनि उनले आह्वान गरिन् ।
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो आह्वान गरेकी हुन् । उनले उक्त प्रतिष्ठानलाई पनि स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नति र दक्ष जनशक्ति उत्पादनका लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन आग्रह गरिन् ।
राष्ट्रपति भण्डारीले संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक एवम् दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रदेश सरकार र स्थानीय निकायले आत्मसात् गरेर अघि बढ्न आह्वान गरिन् ।
उनले विपन्न नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गरी उनीहरुलाई उपचार विधिमा विश्वस्त तुल्याउन मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिइन् ।
राष्ट्रपति भण्डारीले विभिन्न समय र मौसममा हुने सङ्क्रमणबाट मुलुकका सबै नागरिकलाई जोगाउन अस्पताल तथा यहाँका स्वास्थ्य क्षेत्रका जनशक्तिले जनचेतना जगाउने काम गर्नुपर्ने पनि बताइन् । समय समयमा देशका विभिन्न प्रदेशमा डेङ्गु र हैजा जस्ता रोगहरुको सङ्क्रमणले चुनौती थपिएकाले स्वास्थ्य क्षेत्रका विशेषज्ञहरु समयमै ती रोगहरुलाई नियन्त्रणमा ल्याउने काममा खटिनुपर्ने आवश्यकता रहेको पनि उनले बताइन् ।
राष्ट्रपति भण्डारीले बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित गरेर २०७६ असोज २ गते हेटौँडा अस्पतालाई सो प्रतिष्ठानअन्तर्गत ल्याएर सर्वसाधारण नागरिकहरुलाई तत्कालै स्वास्थ्य उपचार सेवालाई सुलभ बनाउने र दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने कार्यमा लागेको भन्दै सो कार्य प्रशंसनीय रहेको बताइन् ।
उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले पहिलो कार्यकालमा नै मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७३ पारित गरेर प्रदेशको राजधानी हेटौँडाको जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सो प्रतिष्ठानको मातहतमा ल्याइएको उल्लेख गरे ।
उनले प्रदेशका अस्पतालहरुलाई स्तरोन्नति गरी दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको तथा बेलाबेलामा आइपर्ने कोभिड–१९, डेङ्गु रोगलाई नियन्त्रणमा लिन आवश्यक जनशक्ति र बजेट विनियोजन गरिएको पनि जानकारी गराए ।































प्रतिक्रिया