मिर्गौला स्वस्थ छ कि छैन कसरी थाहा पाउने ?

मिर्गौला स्वस्थ छ कि छैन कसरी थाहा पाउने ?

केन्द्रबिन्दु
0
Shares

आज मार्च ९ विश्व मिर्गौला दिवस, मिर्गौलाको महत्त्वबारे जनजागरण अभियान सञ्चालन गरी नेपालमा पनि मनाइँदैछ । आफ्नो मिर्गौला बिग्रिरहेको छ भन्ने सुरुमा थाहा हुँदैन । जतिबेला थाहा हुन्छ त्यतिबेला मिर्गौला बिग्रिसकेको हुन्छ । र त्यसको उपचार अत्यन्त कठिन बनिसकेको हुन्छ । 

रोग लाग्नुभन्दा पहिल्यै मिर्गौला जोगाउनेतर्फ ध्यान दिनु उचित हुन्छ भन्ने जनजागरण अभियानका साथ मनाइने मिर्गौला दिवसमा मिर्गौला के कारणले बिग्रन्छ ? बिग्रन नदिन के गर्नुपर्छ  त ? आज हामी यसै विषयमा चर्चा गर्ने छौँ-

मिर्गौला रोग के हो ?

प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यी नै अंगलाई मिर्गौला भनिन्छ। मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु  हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यमबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ ।

मिर्गौला महत्वपूर्ण अंग हो भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिर्गौला विग्रन्छ । जब मिर्गौलामा रोग लाग्छ । मिर्गौला बिग्रिएपछि सातामा दुई देखि ३ पटक नियमित डायलाइसिस गरेर रगत सफा गर्नुपर्ने अवस्था आउँछ कि आफन्तबाट मिर्गौला प्रत्यारोपण गनुपर्ने हुन्छ । 

नेपालमा मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा सरकारले निःशूल्क गरेको छ । तर डायलाइसिस सेवा लिन अस्पताल पुग्न तथा अन्य औषधि नियमित सेवन गर्दा धेरै खर्च हुनेगर्छ । 

स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिर्गौला बिग्रिएको थाहा हुँदैन । ८० प्रतिशत मिर्गौला विग्रिएपछि मात्र बिरामीमा लक्षणहरु देखिन थाल्छ । त्यसैले समयसमयमा मिर्गौला परीक्षण गराउनु पर्ने स्वास्थ्यविद्हरु बताउँछन् । 

मिर्गौला रोग लाग्ने कारणहरु  

उच्च रक्तचाप तथा मधुमेह

विश्वभरीको स्थिति हेर्दा उच्च रक्तचाप र मधुमेहका कारण मिर्गौला बिग्रिनेको संख्या बढी देखिन्छ । यस विषयमा नेपालमा छुट्टै अध्ययन भएको छैन । मिर्गौला बिग्रिँदा पनि उच्च रक्तचाप देखिन्छ । त्यसकारण यो पत्ता लगाउन सकिँदैन । मिर्गौला ढिला गरी बिगार्ने कारणमध्ये मधुमेह तथा उच्च रक्तचाप हो । चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गरी उच्च रक्तचाप नियन्त्रणमा राख्नुपर्छ ।

मिर्गौलाको संक्रमण 

मिर्गौलाको संक्रमण निकै पीडादायी रोग हो । सिस्टाइटिसका कारण मिर्गौलाको संक्रमण हुन्छ । त्यसैले  रोग पहिचान गरेर उपचार गरेमा मिर्गौलाको संक्रमण गम्भीर हुँदैन । तर, समयमै उपचार गरिएन भने अवस्था खराब हुँदै गएर मिर्गौला बिग्रने सम्भावना हुन्छ ।

यसका साथसाथै मिर्गौलामा पत्थरी भएमा, प्रोस्टेटको कारण पिसाब रोकिने समस्या भएमा, अत्यधिक कम पानी पिउदा र जथाभावी औषधि सेवन गर्दा पनि मिर्गौला विग्रिने समस्या हुने चिकित्सकहरु बताउँछन् ।

मिर्गौलाको अवस्था कसरी थाहा पाउने ?

पिसावमा प्रोटिन गएको छैन भने मिर्गौलासम्बन्धी रोग लागेको हुनसक्छ । त्यसैले पिसाव सम्बन्धि समस्या छ भने मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । मिर्गौलामा खराबी छ वा छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ । 

यदी रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला विग्रिन सुरु भएको संकेत हुनसक्छ । यस्तै अल्ट्रासाउण्ड तथा भिडियो एक्सरे गरेर पनि मिर्गौला विग्रिएको छ वा छैन पत्ता लगाउन सकिन्छ । 

मिर्गौलाको रोगबाट बच्न वर्षमा एकपटक मिर्गौलाको स्वास्थ्य परीक्षण गरी पत्ता लगाई समयमै उपचार गर्दा मिर्गौला जोगाउन सकिन्छ । 

मिर्गौला बिग्रन नदिन के गर्ने ?

  • बिहान उठ्ने वित्तिकै पानी पिउने,
  • हरेक दिन १० हजार पाइला हिँड्ने
  • धेरै गुलियो र मासु नखाने
  • धूम्रपान मदिरा सेवन नगर्ने
  • नियमित फलफूल खाने
  • वर्षमा कम्तीमा एकपटक मिर्गौला जाँच गराउने
  • नियमित व्यायाम गर्ने
  • मोटोपन हुन नदिने तथा तौल नियन्त्रणमा राख्ने
  • कुनै दीर्घरोग छ भने समयमै उपचार गराउने  
  • बढी चिल्लो चिज तथा फास्टफूड नखाने

मिर्गौला बिग्रेपछि देखिने लक्षण

पिसाब फेर्न गाह्रो भएमा र पिसाबमा रगत देखिन थालेमा मिर्गौला बिग्रेको लक्षण हुनसक्छ । पिसाब कम मात्रमा लाग्नु तथा फिँज आउने जस्ता समस्या देखिएमा पनि मिर्गौला बिग्रेको लक्षण हुनसक्छ । यस्तै, हात–खुट्टा तथा पेट सुन्निनु, रक्तचाप बढ्नु, थकाइ लाग्नु तथा कमजोर भएमा पनि मिर्गौला बिग्रेको लक्षण हुने चिकित्सकहरु बताउँछन् । 

Skip This
Skip This
Logo