हामी ‘जंकफुड’सँगै रोग खरिद गरिरहेका छौंः कल्पना तिवारी पन्त, पोषणविद्

हामी ‘जंकफुड’सँगै रोग खरिद गरिरहेका छौंः कल्पना तिवारी पन्त, पोषणविद्


सहजै उलब्ध हुने र खान पनि झमेला नहुने खाना ‘जंकफुड’ हो । यही खानाले शरीरलाई कति असहज बनाउँछ भन्ने बिषयप्रति खासै हेक्का हुँदैन । यस्ता खानाले  शरीरलाई  रोगको घर बनाउँछ । ‘प्याकेट’का खाना स्वास्थ्यका लागि ठिक होइन । ‘जंकफुड’ भन्नाले खानका लागि उपयुक्त नभएको, अस्वस्थकर र पोषणविहीन खानेकुरा भनी बुझ्नुपर्छ । 

मानव स्वास्थ्यको लागि आवश्यक पोषण ‘जंकफुड’मा पाइँदैन । यस्ता खाद्यपदार्थमा चिल्लो, गुलियो, अमिलो जस्ता कृतिम स्वाद दिने ‘केमिकल’ प्रयोग हुन्छ । जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

गेडागुडी, दाल, हरिया सागपात, दूध, दही जस्ता खाद्यपदार्थमा पाइने प्रोटिन, फ्याट, भिटामिन, मिनिरल ‘जंकफुड’बाट पाइँदैन । जुन मानव स्वास्थ्यको लागि ज्यादै महत्वपूर्ण छ । 

‘प्याकेट’को खानामा ‘केमिकल’ प्रयोग गरिएको हुन्छ । त्यसो हुँदा यो लामो समयसम्म सड्दैन । त्यस्ता केमिकल शरीरको लागि हानिकारक हुन्छ । यस्ता खाने खाद्यपदार्थ खाँदा क्यान्सर, हाईपर टेन्सन जस्ता खतरनाक रोग लाग्न सक्छ । ‘जंकफुड’ मध्ये पनि विशेष गरी चाउचाउको प्रयोग धेरै मात्रामा भईरहेको छ । जस्ले मानव शरीरलाई रोगको घरमा परिणत गरिरहेको छ । 

सा–साना बालबालिकालाई सन्तुलित भोजनको आवश्यकता पर्छ । प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन, मिनिरल्स जस्ता पोषण घरमा बनाइएका खानामा हुन्छ । तर, बजारमा उपलब्ध चाउचाउ, बिस्कुट, कुरकुरे आदिमा यी तत्व हुँदैन । यस्ता खाद्यपदार्थमा केही मात्रामा पिठो राखिएका हुन्छन् । बढी मात्रामा ‘केमिकल’ नै हुन्छन् । यस्ता खाद्यपदार्थले शरीरलाई असर गर्छ । त्यसो हुँदा हामीले आफै पैसा तिरेर विभिन्न रोग खरिद गरिरहेका छौं ।  

‘जंकफुड’ले मुख र दाँतमा समेत असर गर्छ । ‘जंकफुड’मा भएको ‘केमिकल’ले दातलाई पहेँलो बनाउँछ । र, साथै ‘भिटामिन’को कमिले मुखमा घाउँ खटिरा आउने गर्छ । 

‘जंकफुड’विरुद्धको अभियान घरबाटै 
सरकारले सामुदायिक विद्यालयमा उपलब्ध गराउँदै आएको दिवा खाजाबाट ‘जंकफुड’ हटाएको छ । तर, अझै पनि धेरै बालबालिकाले झोला र गोजीमा चाउचाउ र कुरकुरे बोक्न छाडेका छैनन् । धेरै नेपालीको घरमा अझै पनि चाउचाउ नै बढी पाक्ने गर्छ । यही कारण ‘जंकफुड’ विरुद्धको अभियान घर भित्रैबाट सुरु गरिनुपर्छ । शरीरलाई स्वस्थ्य राख्न नेपाली भान्साका परम्परागत परिकार दालभात, रोटी, आलु, सागसब्जी तथा हरिया, फाइबरयुक्त खाद्यपदार्थमा नै जोड दिनुपर्छ । जसले  बालबालिकालाई पनि ‘जंकफुड’बाट टाढा राख्न सहयोग पुगोस् । 

‘जंकफुड’का असरहरु
–पढाईमा ध्यान दिन नसक्ने 
–शारिरीक वृद्धि विकासमा असर गर्ने 
–बुद्धिको विकासमा कमि आउँने 
–सोच्ने क्षमता कम हुने  
–बढी मात्रामा रिस उठ्ने  
–एकै ठाउँमा लामो समय सम्म बसिरहन नसक्ने 

(पोषणविद् कल्पना तिवारी पन्तसँगको कुराकानीमा आधारित)

Logo