लमजुङको नमूना अस्पतालमा निःशुल्क सुरक्षित प्रसुति सेवा शुरु

लमजुङको नमूना अस्पतालमा निःशुल्क सुरक्षित प्रसुति सेवा शुरु


लमजुङ क्लब सुन्दरबजारमा सञ्चालित एचडिसिएस नमूना सामूदायिक अस्पतालमा प्रसुति सेवा निःशुल्क उपलब्ध हुने भएको छ ।

सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखाले आवश्यक अनुगमन गरी आमा सुरक्षा कार्यक्रम संचालन गर्न विहिबारबाट स्वीकृत दिएको हो ।

यसअघि सुन्दरबजार नगरपालिका अन्तर्गत तीनबटा स्वास्थ्य संस्थामा प्रसुति सेवा उपलब्ध भए पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन । 

यसअघि चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्र, कुन्छा स्वास्थ्य चौकी र सुन्दरबजार अस्पतालमा प्रसुति सेवा उपलब्ध भएपनि यी संस्थाहरुमा सुत्केरी गराउनेको संख्या अत्यन्तै न्यून रहेको थियो । 

एचडिसिएस नमूना सामूदायिक अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा समेत उपलब्ध भएका कारण उक्त संस्थामा अन्य संस्थाहरुले समेत रिफर गर्न सक्ने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमेश्वर पियाले बताए ।

स्वास्थ्य शाखाले नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले सुरक्षित प्रसुति सेवाको लागि एचडिसिएस नमूना सामूदायिक अस्पतालमा रिफर गर्न सक्ने जनाएको छ ।नमूना सामूदायिक अस्पतालका निर्देशक हेमन्त श्रेष्ठका अनुसार अस्पतालमा छुट्टै प्रसुति विभाग र गाईनोलोजिष्ट सेवा समेत उपलब्ध छ ।

वेसीशहरमा सुरक्षित प्रसुति सेवालाई प्रभावकारी रुपमा संचालन गरेको एचडिसिएसले नमूना सामूदायिक अस्पतालमा समेत प्रसुति वार्ड व्यवस्थापन गरिसकेको छ । अस्पतालमा उपलब्ध सेवा सुविधा, वार्ड लगायतको अनुगमन पछि स्वास्थ्य शाखाले आमा सुरक्षा कार्यक्रम संचालन गर्न स्वीकृत प्रदान गरेको हो ।

अब नमूना सामूदायिक अस्पतालबाट गर्भवती महिलाहरुले निःशुल्क परामर्श, स्वास्थ्य चेकजाँच, गर्भवती परीक्षण, प्रसुति सेवा लगायतका सेवा उपलब्ध हुनेछन् ।

एचडिसिएस नमूना सामूदायिक अस्पतालमा निःशुल्क प्रसुति गराउने महिलाहरुले सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत पाउने २ हजार रुपैयाँ, न्यानो झोला, गर्भावस्थामा नियमित परीक्षण गराउनेलाई थप ८ सय रुपैयाँ उपलब्ध हुनेछ । एचडिसिएसले कार्यक्रमको प्रभावकारीता हेरेर पछिल्ला दिनमा थप सुविधा पनि दिन सक्ने अस्पतालले जनाएको छ ।

Logo