नेपालका १६ जिल्लामा फैलियो दादुरा संक्रमण

नेपालका १६ जिल्लामा फैलियो दादुरा संक्रमण

केन्द्रबिन्दु
0
Shares

नेपालमा एक वर्षमा १६ जिल्लामा दादुरा संक्रमण फैलिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार एक वर्षमा देशभरका १६ जिल्लामा दादुराको प्रकोप फैलिएको छ । यसकारण सन् २०२३ मा नेपाललाई दादुरा रुबेलामुक्त घोषणा गर्ने लक्ष्यमा सरकार असफल भएको छ।

सन् २०२३ सम्म दादुरामुक्त घोषणा गर्ने सरकारको तयारी भएकै वर्ष तीव्र गतिमा देशभरि दादुरा संक्रमण फैलिएर चुनौती थपिएपछि अब सरकारले सन् २०२६ सम्म नेपाललाई दादुरा तथा रुबेलामुक्त देश बनाउने लक्ष्य लिएको छ। सन् २०२३ मा नेपालमा दादुरा रुबेलाको अन्त्य गर्ने लक्ष्य राखिएको भए पनि १२ पुस २०७९ मा बाँकेको नेपालगञ्जमा ‘आउट ब्रेक’ भएको थियो।

परिवार कल्याण महाशाखाका अनुसार एक वर्षमा सबैभन्दा धेरै दादुरा संक्रमण बाँकेमा देखिएको छ। १२ पुस २०७९ मा बाँकेको नेपालगञ्जमा देखिएको थियो। जसले १५ वर्षमुनिका बालबालिकामा दादुरा रुबेला संक्रमण तीव्र गतिमा फैलिएपछि महामारीकै रुप लिएको थियो र दादुराकै कारण एक बालकको मृत्युसमेत भएको थियो।

कोशी प्रदेशका २ जिल्ला मोरङ र सुनसरी, मधेश प्रदेशका ३ जिल्ला धनुषा, महोत्तरी र सर्लाही, बागमती प्रदेशका २ जिल्ला चितवन र काठमाडौंमा दादुराको प्रकोप देखिएको छ। यसैगरी लुम्बिनी प्रदेशका ५ जिल्ला कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको एउटा जिल्ला सुर्खेत र सुदूरपश्चिम प्रदेशका ३ जिल्ला कैलाली, कन्चनपुर र बाजुरामा दादुराका बिरामी भेटिएका छन्। यी जिल्लामा गरी यो एक वर्षमा १ हजार ३ जना दादुराका बिरामी भेटिएका छन्।

यी १६ जिल्लामध्ये सबैभन्दा धेरै बाँकेमा ३२९ जना दादुराका बिरामी भेटिएका थिए। महोत्तरीमा १०५ जना, सर्लाहीमा ७७ जना, बर्दियामा ७३ जना, सुर्खेतमा ६५ जना, कैलालीमा ४७ जना, सुनसरीमा ४१ जना, चितवनमा ४० जना, कञ्चनपुरमा ३३ जना, मोरङमा ३२ जना, दाङमा २९ जना, धनुषा र कपिलवस्तुमा २३र२३ जना, बाजुरामा १८ जना, अर्घाखाँचीमा ११ जना र काठमाडौंमा ४ जनामा दादुरा पुष्टि भएको छ।  

एक जनाको ज्यान गएपछि भने बाँकेमा गत पुस महिनामा ६ महिनादेखि १५ वर्ष उमेर समूहका कुल १ लाख ७३ हजार ३२४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ। दादुरा संक्रमण देखिएका १६ वटा जिल्लामा कुल १६ लाख ८१ हजार ८५१ जना बालबालिकालाई खोप दिने तयारी भएको समेत महाशाखाले जनाएको छ।

मन्त्रालयले कैलाली सुनसरी र महोत्तरी गरी ३ जिल्लामा बढी प्रक्रोप फैलिएको बताएको छ। यसमा कैलालीको धनगढी उपमहानगर पालिका, गौरीगंगा, गोदावरी बर्जु नगरपालिका भेरी र गौशाला नगरपालिकाको वडा नं २ र ५ मा पनि यो प्रकोप बढी देखिएको छ। धेरै संक्रमण देखिएको यी स्थानीय तहका हालसम्म कुल २ लाख १५ हजार ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइको महाशाखाले जनाएको छ। परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयमा देखिएको दादुरा नियन्त्रणमा आएको जनाएको छ। 

महाशाखाका खोप शाखाका भरत भण्डारीले अनुसार हाल गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयमा देखिएको दादुरा संक्रमण नियन्त्रणमा आइसकेको बताए। यहाँ ४ जना दादुरा संक्रमित भेटिएका थिए भने विद्यालयमा रहेका ५६० जनामध्ये ६३ जनामा उस्तै खालका लक्षण देखिएको थियो। शंकास्पद बिरामीको संख्या ८ वर्षदेखि ३८ वर्षसम्म रहेका छन्।

Logo