चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु, सांसद चौधरीले गरे उद्घाटन

चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु, सांसद चौधरीले गरे उद्घाटन


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरू भएको छ। चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सिजी सबल केन्द्र सञ्चालनमा आएको हो।

शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरेका हुन् । अब चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क पाउनेछन्।

नवलपरासी-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रूपमा अगाडि बढाउने जोड दिँदै आएका छन् । चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृत सेवा दिने अस्पतालका रूपमा काम भइरहेका बेला शनिबारदेखि सबल केन्द्रको पनि उद्घाटन भएको हो।

सिजी सबल केन्द्रबाट हालसम्म करिव एक हजार जना लाभान्वित भइसकेका छन्। केन्द्रले निशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउँदै आएको छ। चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले सेवा पाउने चौधरी फाउण्डेसनले जनाएको छ। 

साथै अस्पताललाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउने फाउण्डेसनको प्रतिवद्धता छ । 

साे अवसरमा सांसद चौधरीले चिसापानी अस्पताललाई थप विशिष्टिकृत बनाउन ट्रमा सेन्टरको स्थापना गर्ने जनाएका छन्। उनले ट्रमा सेन्टर स्थापनाका लागि सोही क्षेत्रकै कतिपय नेताहरूले अवरोध गरेको उल्लेख गर्दै आफू यसअभियानबाट पछाडि नहट्ने प्रतिवद्धता जनाए।

'यो अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी काम हुन्छ। यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण साथ सहयोग हुन्छ,' उनले भने, 'ट्रमा सेन्टर बनाउन यहीँकै केही नेताहरू लागेको देख्दा म आफै लज्जित बनेको छु। तर यो मेरो प्रतिबद्धता हो कि म बनाएरै छोड्छु।' 

नवलपुरको मध्यबिन्दू जिल्ला अस्पतालमा पनि सीजी सबल केन्द्र सन्चालनमा रहेको छ । सांसद चौधरीकै पहलमा सरकारले चिसापानी अस्पतालसहितह नवलपरासी १ का तीन वटा स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ । यसअघि चिसापानी अस्पतालमा टोकन प्रणालीबाट सेवा लिने व्यवस्था सुरु भइसकेको छ ।

Logo