खोटाङ अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा अनिश्चित

खोटाङ अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा अनिश्चित


जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर  शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ।

जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफैं बिरामी भएर उपचारका लागि काठमाडौँ गएपछि बेहोस बनाएर गरिने प्रसूति सेवा अनिश्चितकालका लागि बन्द भएको हो। 

प्रसूति सेवा बन्द भएको बारेमा अस्पतालले सूचना जारी गरेर जानकारी दिएको छ। असोज ३० गतेदेखि लागू हुनेगरी सार्वजनिक गरिएको सूचनामा भनिएको छ, “अर्को व्यवस्था नभएसम्मका लागि जिल्लामा अस्पताल खोटाङमा डेलिभरी र अप्रेसन सेवा बन्द भएको छ। यसबाट पर्न जाने असुविधाप्रति  अस्पताल परिवार क्षमा चाहन्छौँ।”

शल्यक्रियाका क्रममा बेहोस गराउने स्वास्थ्यकर्मी उपचारमा गएसँगै अर्को व्यवस्था नभएसम्मका लागि प्रसूति सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा. चतुरानन्द यादवले जानकारी दिए। 

“अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक अस्पताल व्यवस्थापन समितिलाई पूर्व जानकारी गराएर उपचारका लागि काठमाडौँ जानुभएको छ। उपचारमा जानुभएका एनेस्थेसिया सहायक दशैँपछि मात्र उपस्थित हुने कुरा भएको छ”,उनले भने, “अर्को एनेस्थेसिया सहायक व्यवस्था गर्ने पहल गरिए पनि सम्भव भएन। उपचार गराएर उहाँ नफर्किएसम्मका लागि बेहोस बनाएर गरिने प्रसूति सेवा बन्द गर्ने निर्णय गरिएको हो।”

जिल्ला अस्पतालमा एनेस्थेसियाको वैकल्पिक व्यवस्था नगर्दा बेहोस बनाएर गर्नुपर्ने प्रसूतिका बिरामी चर्को शुल्कमा हेलिकोप्टर चार्टर गरेर जिल्ला बाहिर जान बाध्य बनेका छन्। विसं २०४९ वैशाख १ गते स्थापना गरिएको अस्पतालमा हालसम्म एनेस्थेसिया सहायकको दरबन्दी छैन।

जिल्ला अस्पताल स्थापनाको ३१ वर्ष पुग्दा उपचारका क्रममा बेहोस गराउने स्वास्थ्यकर्मीको एउटा दरबन्दी ल्याउन नसकेको भन्दै जिल्लाका नेतृत्वको आलोचना हुने गरेको छ। जिल्लाको एकमात्र सरकारी अस्पतालमा निकसाइमन नामक संस्थाले एक जना एनेस्थेसिया सहायक उपलब्ध गराएको हो।

एनेस्थेसिया सहायक बिरामी हुँदा गत वर्ष पनि बेहोस बनाएर गरिने प्रसूति सेवा महिनाभन्दा बढी बन्द भएको थियो। विसं २०७९ भदौ २६ गतेबाट बन्द भएको सेवा असोज २७ गतेबाट पुनः सञ्चालन गरिएको थियो। 

दश स्थानीय तह रहेको जिल्लाको दिक्तेलमा सञ्चालित जिल्ला अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको राष्ट्रिय मानवअधिकार आयोगले समेत औँल्याएको छ। आयोगले गत बुधबार दिक्तेलस्थित आयोगको शाखा कार्यालयमा आयोजना गरेको पत्रकार घेटघाट कार्यक्रममा आयोगका सदस्य मिहिर ठाकुरले अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको पाइएको बताए।

“अनुगमनका क्रममा जिल्ला अस्पताल खोटाङ पुगेका थियौँ। त्यहाँ पुग्दा जीवनजलसमेत भेटिएन। म आफैँलाई पनि पेटसम्बन्धी समस्या थियो। आकस्मिककक्ष पुगेर जचाउँदा जीवनजलसमेत नरहेको अस्पतालले प्रतिक्रिया दियो”,उनले भने,“म आफैंले जीवनजल नपाउने अस्पतालमा सामान्य नागरिकले कसरी सेवा लिइरहेका होलान् भन्ने प्रश्न उब्जिएको छ। यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।”

अस्पतालको सेवा प्रवाहप्रति सामाजिक सञ्जालमा समेत व्यापक आलोचना भइरहेको छ। अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले भने जिल्ला अस्पतालमा भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेकाले प्रभावकारी सेवा प्रवाहमा केही समस्या भएको जनाएको छ।

लामो समयसम्म १५ शय्यामा सञ्चालन भएको जिल्ला अस्पताल खोटाङमा अहिले स्तरोन्नतिको काम भइरहेको छ। यसअघि शल्यक्रिया तथा बिरामी राखेर उपचार गरिने भवनलगायतका भौतिक संरचना हटाएर त्यस ठाउँमा ५० शय्याको सुविधासम्पन्न भवन निर्माणको काम तीव्रगतिमा भइरहेको पाइएको छ। 

Logo