नेपालमा प्राथमिक सेवा सुधारको सपना देखेका अमेरिकी डाक्टर

नेपालमा प्राथमिक सेवा सुधारको सपना देखेका अमेरिकी डाक्टर


अमेरिकाको ब्राउन युनिभर्सिटीका सहायक प्राध्यापक डाक्टर रामु खरेलले नेपालमा प्राथमिक स्वास्थ्य क्षेत्रको सुधारमा धेरै काम गर्न जरुरी रहेको बताएका छन् । मिडियासँगको संवादमा उनले, ह्दयाघात, मस्तिष्काघातलगायतका कतिपय रोगमा मानिसहरुले तत्कालै प्राथमिक स्वास्थ्य उपचार पाउनुपर्ने भएपनि नेपालमा त्यो अवस्था नरहेको बताए । 

‘आकस्मिक सेवा सुधार गर्नु भनेको सानोतिनो कुरा हुँदै होइन । पहिले त आकस्मिक सेवा के हो बुझ्नुपर्छ । आकस्मिक सेवा भनेको यदि तपाई कुनै पनि गाउँमा हुनुहुन्छ यदि तपाईलाई केही आकस्मिक कुराहरु भयो । अब बिरामीलाई थाहा हुँदैन की आकस्मिक हो होइन,’ उनले भने ‘तपाईलाई छाती दुख्ला रे, तपाईलाई टाउको दुख्ला रे । त्यो टाउको दुखेको स्ट्रोक हो की होइन तपाईलाई ब्लिडिङ भाको छ कि छैन । या तपाईलाई छाती दुखेको छ, हार्ट एट्याक हो की होइन ? त्यो  थाहा पाउन त एउटा सेवा, सर्भिस चाहियो । तपाईलाई थाहा हुदैन।’ 

एक त बिरामीले आफूलाई के भएको हो भन्ने थाहा नपाउनु, अर्कातिर स्वास्थ्य परीक्षणको सेवा सर्वसुलभ नहुनुले समयमै उपचार सेवा नपाएर धेरै नेपालीले मृत्युवरण गरिरहेको उनको अनुमान छ । 

‘हार्ट एट्याक भएपछि चार घण्टाभित्र केही गर्नुपर्छ । हाम्रो देशमा त्यो छँदै छैन । यदि कसैलाई गाउँमा हार्ट एट्याक हुन्छ भने उसको मृत्यु भए बराबर हो । तर तपाईलाई अमेरिकामा हार्ट एट्याक हुन्छ भने तपाई बाँच्नु हुन्छ,’ उनले भने । 

२०७२ सालको भूकम्पपछि प्रभावित क्षेत्रमा आएर सहायतामा खटिएका डा. खरेलले त्यति बेलैदेखि नेपालको प्राथमिक स्वास्थ्य सुधारको आवश्यकता महसुस गरेको बताए । गुल्मीमा जन्मिएर १२ वर्षको हुँदा अमेरिका टेकेका उनले अब नेपालको प्राथमिक स्वास्थ्यमा केही गर्नु पर्छ भन्ने उद्देश्यका साथ काम थालेको स्मरण गरे । 

आफूले नेपालमा काम थालेको पछिल्लो करिब ८ वर्षको अवधिमा नेपालको प्राथमिक स्वास्थ्यको क्षेत्रमा केही सुधार भएपनि आशा गरे जस्तो प्रगति नभएको उनको अनुभव छ । नेपालमा काम गर्न चाहनेका लागि समेत चुस्तदुरुस्त प्रशासन संयन्त्र नभएको भन्दै उनले सुधारका लागि बहाना बनाउने भन्दा पनि सकेको प्रयास गर्नुपर्ने बताए ।

Logo