मेडिसिटी अस्पतालकाे कम्प्रिहेन्सीप ब्रेस्ट केयर सेन्टर सञ्चालनमा

मेडिसिटी अस्पतालकाे कम्प्रिहेन्सीप ब्रेस्ट केयर सेन्टर सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

नेपाल मेडिसिटी अस्पतालले आजबाट कम्प्रिहेन्सीप ब्रेस्ट केयर सेन्टर सञ्चालनमा ल्याएकोे छ । महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको हो । 

कम्प्रिहेन्सीप ब्रेस्ट केयर सेन्टरअन्तर्गत महिलाहरुले सबै किसिमका उपचार, निदान, स्तन रिकन्सट्रक्सन तथा जनचेतनाका लागि तालिमको सेवा एकै छत मुनिबाट प्राप्त गर्न सक्नेछन् । यस विभागबाट विभिन्न परीक्षण, शल्यक्रिया तथा शल्यक्रिया पछि नक्कली स्तन राख्ने वा रिकन्स्ट्रक्सनको सुविधा पनि प्रदान गरिन्छ । 

सेन्टरको उद्घाटन नायिका तथा सामाजिक अभियान्ता मानिषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा र महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्यक्ष निरु रायमाझीबाट गरिएको हो । 

अस्पतालका अध्ययक्ष उपेन्द्र महतोले नेपालीहरुलाई स्वदेशमै सम्पूर्ण सेवा प्राप्त होस् भन्ने उदेश्यले विशेषज्ञ केन्द्रहरु एकपछि अर्को सञ्चालन गरेको बताए । 

कार्यक्रममा बोल्दै नायिका मनिषा कोइरालाले विदेशमा जसरी नै नेपालमा पनि क्यान्सर रोगको केन्द्रिकृत उपचार अभ्यास हुनुपर्ने बताइन् । उनले क्यान्सरको अनुभव साट्दै सबै किसिमका क्यान्सरको उपचार नेपालमै हुनुपर्ने जोड दिइन् । ग्रामिण भेगका महिलाहरुमा पनि उपचारको पहुँच भएको हेर्ने आफ्नो सपना रहेको उनले बताइन् । 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्ययक्ष भवानी राणाले नेपाल मेडिसिटीमा स्तन क्यान्सरको सबै उपचार सम्भव भएकोमा खुशी व्यक्ति गरिन् । उनले महासंघसँग जोडिएका ग्रामिण भेगका महिलाहरुमा जनचेतना फैलाउन आफूले पनि सहयोग गर्ने बाचा गरिन् ।

महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्यक्ष निरु रायमाझीले महिलाहरुमा जनचेतनाको कमी रहेको बताइन् । उनले भनिन्, “हाम्रो स्वास्थ्य प्रणाली महिलामैत्री छैन । सरकारले महिलालाई आर्थिक रुपमा सशक्तिकरण गर्ने उद्धेश्य बोकेको छ, तर जबसम्म महिलाहरुको स्वास्थ्य सुरक्षित हुँदैन, तबसम्म आर्थिकरुपमा सशक्तिकरण गर्न सकिँदैन ।”

आफैले छामेर पत्ता लाग्न सक्ने रोग भएतापनि कति महिलाहरुलाई कसरी जाँच्ने भन्ने विषयमा थाहै नभएको कम्प्रिहेन्सीप ब्रेस्ट केयर सेन्टरका प्रमुख तथा प्रिन्सिपल कन्सलटेन्ट डा. ज्योति रायमाझीले बताइन् ।

त्यस्तै, स्तन क्यान्सर भन्नेवित्तिकै महिलालाई मात्र हुन्छ भन्ने भ्रम समाजमा फैलिएको छ, जुन गलत हो । यो रोग पुरुषमा पनि देखिन्छ । अध्ययनहरुका अनुसार एकलाख महिलामा ११८ जनामा स्तन क्यान्सर देखिन्छ भने एक लाख पुरुषहरुमा एक जनामा स्तन क्यान्सर देखिने गरेको छ ।

Logo