काठमाडौं ।
प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकोमा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन थप गरी क्षमता विस्तार हुन लागेको हो ।
हाल सरकारी स्वामित्वका स्वास्थ्य संस्थामा २५ र निजी संस्थासँग रहेका १५ रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) मेशिनलाई ठाउँठाउँमा सेट गरी परीक्षणको दायरा बढाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा खेम कार्कीले जानकारी दिए। आजसम्म काठमाडौँमा एक हजार नौ सय ६५ र काठमाडौँ बाहिर ४०१ गरी कूल दुई हजार तीन सय ६६ को परीक्षण भएकामा नौ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज १८० नमूना परीक्षण भइरहेका छन् भने करीब आठ हजार व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । उनले हाल धनगढी, पोखरा र नेपालगञ्जमा ठूला पिसिआर मेशिन जडान भइरहेका जानकारी दिए। सरकारको निर्णय अनुसार काठमाडौँ बाहिरका १० ठाउँमा परीक्षण सञ्चालन भइरहेको र ती स्थानबाहेक थप नयाँ ठाउँमा मेशिन सेटअप गर्न स्वास्थ्य मन्त्रालयको प्याथोलोजी सल्लाहकार समितिले अध्ययन गरिरहेको छ ।
चैत १० गतेको स्वास्थ्य मन्त्रिस्तरको निर्णयबाट डा गुणराज लोहनीको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो । सो समितिले ल्याबहरुको स्थापना, प्रोटोकल निर्माण, जनशक्ति व्यवस्थापन र सामानको गुणस्तरबारे नियमित अध्ययन र परामर्श गर्दै आएको छ । सो समितिका सदस्य एवं नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले नेपालभित्रै रहेका र प्रयोगमा नआएका पिसिआर मेशिनलाई प्रयोग गराउँदै परीक्षणको दायरा बढाउन सकिने स्पष्ट भएको बताए । यी ल्याबहरु अब दीर्घकालका लागि स्थापित हुनेछन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशन अनुसार यी सेटअप भएका ल्याबहरु भविष्यमा यस्ता कुनै पनि भाइरलको परीक्षणका लागि काठमाडौँमा नमूना पठाइरहन पर्ने पद्धतिको अन्त्य गराउन त्यहीँ परीक्षण गराउन नियमित सञ्चालनका लागि बजेटको प्रबन्धमा मन्त्रालय जुटेको छ । बर्ड फ्लुको प्रकोप फैलिएका बेला सञ्चालन गरिएका कृषि तथा भेटेरिनरीमा रहेका प्रयोगविहीन मेशिनलाई प्रयोग गर्नेबारे शुरुमा अन्योल तथा ढिलै भए पनि आफूहरु प्रयोगमा ल्याउन सफल भएको खनालले बताए । रासस































प्रतिक्रिया