मोबाइलमा मात्र धेरै समय दिने बालबालिकाको मस्तिष्क विकास कमजोर

मोबाइलमा मात्र धेरै समय दिने बालबालिकाको मस्तिष्क विकास कमजोर

केन्द्रबिन्दु
0
Shares

 

‘स्क्रिन समय’ भनेको व्यक्तिले कम्प्युटर, ट्याब्लेट, स्मार्टफोन जस्ता साधनको अगाडि बिताएको समय हो । धेरै ‘स्क्रिन समय’ ले बालबालिकाहरुको मस्तिष्क विकासमा बाधा उत्पन्न गर्छ भन्ने कुरा हालैको अनुसन्धानले देखाएको छ ।

यसले बौद्धिक र भाषिक विकासमा समेत बाधा पुर्‍याउँछ साथै यसबाट व्यक्तिमा व्यावहारिक,भावनात्मक, शैक्षिक लगायतका समस्या देखिने, सामाजिक व्यवहारमा बाधा उत्पन्न हुनेदेखि निद्रा खलबलिने, मोटोपन हुने र यहाँसम्म कि हिंसात्मक व्यवहार गर्ने पनि हुन सक्छ ।

बालबालिकाहरुको मस्तिष्कमा पर्ने ‘स्क्रिन समय’ का हानिकारक प्रभावहरुलाई ध्यानमा राख्दै रातो बङ्गला किताबले निम्न लिखित सुझावहरु तय गरेको छ ।

१. विश्व स्वास्थ्य संगठनको निर्देशन (सन् २०१९) अनुसार दुई वर्षभन्दा मुनिका बालबालिकाहरुलाई ‘स्क्रिन’को प्रयोग गर्न दिनु हुँदैन । दुईदेखि पाँच वर्ष उमेर समुहका बालबालिकाहरुलाई अभिभावकले आफूसँगै राखेर दैनिक एक घण्टाभन्दा कम मात्र ‘स्क्रिन समय’ दिनु ठिक हुन्छ ।

२. विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार ‘स्क्रिन समय’ कम गर्नु नै राम्रो हुन्छ । आफ्ना बालबालिकाहरुलाई सान्दर्भिक र गुणस्तरीय कार्यक्रमहरुको छनोट गर्न सघाउँदा सँगै बसेर हेर्ने गर्दा ‘स्क्रिन समय’कम गर्न सहज हुन्छ । किशोरावस्थाका केटाकेटीहरुका लागि कस्तो सामग्री छान्ने, के हेर्ने, कहाँ हेर्ने, कहिले हेर्ने, कति हेर्ने भन्ने कुरामा छलफल गरी नियमहरु बनाउनुहोस् । घरमा टिभी खुल्लै छाड्दा बालबालिकाहरु एकाग्र भई काम गर्ने बानीमा नकारात्मक प्रभाव पर्छ ।

३. छोराछोरीलाई तार्किक रुपमा सोच्न सिकाउनुहोस् र उनीहरुलाई ‘अनलाइन’ मा के हेर्न चाहन्छौ भनी प्रश्न गर्नुहोस् । ‘स्क्रिन समय’का लागि नियम र सीमाहरु तोक्नुहोस् साथै ‘अनलाइन’बाट हुने नकारात्मक क्रियाकलापबाट कसरी सुरक्षित हुने भन्नेबारे छलफल गर्नुहोस् ।

४. खाना खाँदा वा खुवाउँदा ‘स्क्रिन’ हेर्नु हानिकारक हुन्छ किनभने यसले गर्दा बालबालिकाहरुले म के खाँदैछु वा मलाई के खुवाइँदैछ भन्ने नै थाहा पाउँदैनन् । उनीहरुलाई भोक के हो, खानाको स्वाद कस्तो छ, खाना कति खाने र खानाको महत्व के हो भन्ने बुझ्न गाह्रो हुन्छ । यसो हुँदा हात मुखको समन्वय र सुष्म मांसपेशी समन्वय नहुनाले उनीहरु महत्वपूर्ण मस्तिष्क विकासबाट वञ्चित हुन्छन् ।

५. बालबालिकाहरुको कोठा ‘स्क्रिन–मुक्त’ हुनुपर्छ । यी ‘स्क्रिन’ का साधनहरु सबै जना बस्ने साझा कोठामा राख्नुपर्छ । घरमा खाना खाँदा, यात्रा गर्दा र रेस्टुरेन्टहरुमा खाँदा पनि ‘मिडिया–मुक्त’ हुनुपर्छ । जसले गर्दा परिवारका सदस्यबीच आपसी सम्वन्ध बढ्छ । परिवारका सबै सदस्यहरुले ‘स्क्रिन’का साधनहरुलाई राति सुत्नुअघि कोठाबाहिर चार्ज गर्नु बेस हुन्छ ।

६. ‘स्क्रिन’मा धेरै समय बिताउने बालबालिकाहरुले खेलेर सिक्ने सीप गुमाउँछन् । अभिभावकले आफ्ना बालबालिकाहरुसँग अन्तरक्रियात्मक समय बिताउने बाहिरी खेल खेल्ने, शारीरिक कसरत गर्ने किताब पढ्ने, गेम बोर्ड (जस्तै–चेस, लुँडो, साँपसिढी आदी ) खेल्ने गर्नाले उनीहरुको रचनात्मक र समग्र विकासमा सघाउ पुग्छ । यसो गर्दा बालबालिकाहरुमा मनोरञ्जनका लागि प्रविधिमा भर नपर्ने बानीको विकास हुन्छ ।

७. धेरै ‘स्क्रिन समय’ले बालबालिकाहरुलाई बाहिर घुम्ने र खेल्ने समयबाट टाढा लैजान्छ । यस्ता बालबालिकाहरुमा आफूमा खेलप्रेमको विकासै नगरी हुर्केर निष्कृय वयस्क बन्न पुग्छन् । यस्ता साधनहरुको कम प्रयोग गरी आफू र आफ्ना बालबालिकाहरुको जीवनशैलीलाई गतिशील बनाउँदै रमाइलो र अर्थपूर्ण बनाउनुहोस् ।

८. बालबालिकाहरुसँग हुँदा तपाईं आफैं पनि स्मार्टफोन र ट्याब्लेट चलाउने समय कम गर्नुहोस् र बालबालिकाहरुतर्फ ध्यान दिनुहोस् । बालबालिकाहरुलाई पनि टिभी वा कुनै ग्याजेटबिना गृहकार्य गर्ने बानी लगाएर उनीहरुलाई एकाग्र भई आफ्नो काममा ध्यान दिने बानीको विकास गराउनुहोस् ।

९. ‘स्क्रिन’ बाट आएको प्रकाशले निद्रा खलबलिने हुँदा सुत्नुभन्दा एक घण्टाअघि ‘स्क्रिन–मुक्त’ हुनु नै पर्छ ।

१०. ‘स्क्रिन समय’ को हानिकारक प्रभावबारे आफू पनि सचेत हुनुहोस्, बालबालिकाहरुसँग पनि छलफल गर्नुहोस् र आफ्नो परिवार यस्तो जोखिमबाट कसरी मुक्त हुने भनी छलफल गरी योजना बनाउनुहोस् ।

Logo