बबिता विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार, अन्य चार सम्मानित

बबिता विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार, अन्य चार सम्मानित

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। दुर्गम क्षेत्र, दार्चुला अस्पतालमा कार्यरत अनमि बबिता विष्ट उत्कृष्ट स्वास्थ्यकर्मी घोषित भएकी छन्। मंगलबार स्वास्थ्य सेवा दिवस २०८० को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक कार्यक्रममा उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार २०८० उनलाई प्रदान गरिएको हो।

उनलाई प्रदान गरिएको पुरस्कार राशी एक लाख रुपैयाँ रहेको छ। अनमि छैटौं तहमा २०७६ सालदेखि हाल दार्चुला अस्पतालमा कार्यरत विष्टले लामो समयसम्म महाकाली अञ्चल अस्पतालमा कार्य गरी स्वास्थ्य सेवा क्षेत्रमा योगदान गरेको मन्त्रालयले जनाएको छ।

यस्तै, स्वास्थ्य सेवा पुरस्कारबाट चार जनालाई सरकारले सम्मान गरेको छ। सम्मानित हुनेमा २०५४ सालदेखि कालिकोट जिल्ला अस्पतालमा कार्यरत दीर्घ बहादुर नेपाली, ‘सि’अनमि पाँचौं तहमा बारा जिल्लामा कार्यरत किरण कुमारी रहेकी छन्।

यस्तै, कर्णलीको दुर्गम क्षेत्रका महिला र शिशूको स्वास्थ्य सेवामा विगत २४ वृषदेखि अनवरत सेवा गरिरहेका सुर्खेत अस्पतालमा कार्यरत एघाराैँ तहका गाइनोक्लोजिस्ट डा.केशर बहादुर ढकाल र फार्मेसी क्षेत्रबाट फार्मेसी निरिक्षक शुष्मा थपलियालाई स्वास्थ्य सेवा पुरस्कार २०८० बाट पुरस्कृत गरिएको छ।

स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित हुने चारै जनालाई कदरपत्र सहित ५० हजार रुपैयाँको पुरस्कार राशीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्य सचिवलगायतले माला र खादा लगायर सम्मान गरे।

सम्मानित हुने पाँचै जनालाई दुर्गम क्षेत्रमा काम गरेको अनुभव, स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याएको योगदान, कार्यसम्पादन मूल्यांकन तथा स्थानीय र प्रदेशबाट सिफारिस भई आएको नामको आधारमा स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गरिएको हो। उनीहरुको नाम सिफारिस समितिको संयोजक मुख्य सचिव बैकुण्ठ अर्यालको टोलीले छनोट गरी मन्त्रिपरिषद्बाट पास गराइएको मन्त्रालयले जनाएको छ।

Logo