पाठेघर र स्तन क्यान्सर पहिचान गर्न वडामै ‘स्क्रिनिङ’

पाठेघर र स्तन क्यान्सर पहिचान गर्न वडामै ‘स्क्रिनिङ’

केन्द्रबिन्दु
98
Shares

पर्वत। पछिल्लो समय नेपालमा क्यान्सर लागेका महिलाहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ। ग्रामीण क्षेत्रमाका विपन्न र अशिक्षित परिवारका महिलामा यो रोगबाट बढी पीडित भएका चिकित्सकहरूले बताएका छन्।

क्यान्सरपीडित महिलाको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै पर्वतको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्न थालेको छ। नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थामा क्यान्सरको पहिचान गर्न फरक–फरक मितिमा अस्थायी ‘स्क्रिनिङ’ शिविरको आयोजना गरी लक्षण देखिएका महिलाहरूको पहिचान गर्ने भएको हो।

नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत रुद्र शर्मा सापकोटाका अनुसार पाठेघरको मुख र स्तनमा भएको वा हुन लागेको क्यान्सरका बारेमा समयमा नै थाहा नपाउँदा सङ्क्रमणले च्याप्दै लगेका उदाहरण धेरै देखिएका छन्।

जसले गर्दा सङ्क्रमण गहिरिसकेको हुने तथा त्यसको उपचार गर्न धेरै खर्च लाग्ने अवस्था आउने भएकाले समयमै यसको पहिचानका लागि ‘स्क्रिनिङ’ शिविर गर्न लागिएको सापकोटाले बताए।

महिलामा पाठेघरको मुख र स्तनको क्यान्सरको सङ्क्रमण बढिरहेको अवस्थामा फलेवासका महिलाहरूमा पनि यसको जोखिम रहेको भन्दै नगरपालिकाको आन्तरिक बजेटबाट कार्यक्रम गर्न लागिएको हो।

“परीक्षण गर्दा सङ्क्रमण वा जोखिम रहेको पाइएमा समयमै उपचारका प्रक्रिया सुरु हुने र कम खर्च र समयमै निको हुने भएकाले यो शिविर प्रभावकारी हुने उनले बताए। शिविरमा आङ खस्ने समस्याको उपचार निःशुल्क गरिने भएको छ।

शिविरमा गरिने परीक्षणबाट महिलामा आगामी १० वर्षभित्रमा क्यान्सरको जोखिम रहेको भए त्यो पनि थाहा हुने भएकाले यो परीक्षण अभियान महिलाका लागि महत्त्वपूर्ण रहेको स्वास्थ्य अधिकृत सापकोटाले बताए। अहिले गर्ने परीक्षणले महिलामा क्यान्सरको सङ्क्रमणको पूरै यकिन नगर्ने भए पनि सम्भावना र शङ्काका बारेमा स्पष्ट हुने उनको भनाइ छ।

क्यान्सरको शङ्का लागेका बिरामीलाई थप परीक्षण गर्नुपर्ने अवस्थामा शिविरवाटै रेफर गरेर पठाइने फलेवासका नगरप्रमुख गङ्गाधर तिवारीले बताए। तिवारीले घरको अर्थावस्थाका कारण उपचारका लागि अस्पतालसम्म जान नसक्ने महिलालाई नगरपालिकाले आवश्यक सहयोग गर्ने भएको छ।

शिविर सञ्चालनका लागि बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनबाट चिकित्सक बोलाएर स्थानीय स्वास्थयकर्मीलाई प्रशिक्षण दिएको थियो। प्रत्येक स्वास्थ्य संस्थाबाट दुई–दुईजनाका दरले सहभागी ‘नर्सिङ स्टाफ’लाई तालिम दिएर जनशक्ति तयार पारिएको पालिकाले जनाएको छ।

हरेक वडामा बिहान १० देखि साँझ ५ बजेसम्म शिविर चल्ने भएको छ। शिविर आजदेखि सुरु गरेर चैत २६ गतेसम्ममा पूरा गर्ने लक्ष्य नगरपालिकाको छ। सरकारको अध्ययनअनुसार नेपालमा प्रत्येक वर्ष करिब २० हजारभन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन्।

Logo