स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन

स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन

केन्द्रबिन्दु
112
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गरेका छन् । आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी भएका थिए ।

मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे । त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न गएका थिए । करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए ।

अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताए । “देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुुनुपर्छ”, उनले भने, “कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ । मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो ।”

मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने बताए । शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेकोसमेत भेटिएको थियो ।

अस्पतालमा आएका सर्वसाधारणले सेवासुविधामा भोग्नु परेको समस्या प्रत्यक्ष मन्त्रीसमक्ष राखेका थिए । अस्पतालको औषधि पसलमा घण्टौँ लाइन लागेका सर्वसाधाणलाई मन्त्री यादवले समस्या के छ ? भन्दै सोधेका थिए । औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले सुनाएका थिए ।

मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतलाई निर्देशन दिए । त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गरेका थिए ।

Logo