सांसद डा. सुनिल शर्माले मिलाए कतारमा कार्यरत नेपालीलाई केएमसीमा सहुलियत उपचारकाे व्यवस्था

सांसद डा. सुनिल शर्माले मिलाए कतारमा कार्यरत नेपालीलाई केएमसीमा सहुलियत उपचारकाे व्यवस्था

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सांसद डा. सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि विरामी भई उपचार गर्दा काठमाडौं मेडिकल कलेजमा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् ।

आज कतारस्थित नेपाली राजदूतावासमा भएको एक कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच कतारस्थित नेपाली राजदूत डा. नरेश विक्रम ढकालको उपस्थितिमा काठमाडौं मेडिकल कलेजले साे सम्झौता गरेको हो ।

सम्झौता अनुसार अब कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपालीहरु तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्य गर्दै आएका नेपाली श्रमिकहरु उपचारका लागि केएमसी आउँदा अस्पताल सेवामा ५० प्रतिशत छुट हुने छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सिनामंगलस्थित केएमसी उपचारका लागि आउने क्रममा केएमसीको एम्बुलेन्स प्रयोग गरिएमा एम्बुलेन्स शुल्क पनि पाँच सय मात्र गरिएको सांसद शर्माको भनाई छ ।

“कतारमा रहेका करिब ३ लाख ६६ हजार नेपाली कामदारहरुको अवस्था, बस्दा रहँदा आईपर्ने रोगको उपचारमा हुने आर्थिक समस्या र परिवारको सदस्यहरुको उपचारलाई सहज बनाउन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारसँग सहमति गर्ने निर्णय भयो ।” उनले भने ।

सम्झौता पत्रमा उल्लेखित सुविधाहरु २०८१ असार मसान्त सम्म कायम रहने छ भने कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवार अर्थात आमा, बुबा, श्रीमान/श्रीमति, अविवाहित छोरा छोरीलाई समेत केएमसीले अस्पताल सेवामा १५ प्रतिसत छुट उपलव्ध गराउने छ । यसअन्तर्गत सुविधा लिन आउँदा परिचय पत्र र नाता प्रमाणित हुने कागजात लिएर आउनुपर्ने केएमसीले जनाएकाे छ ।

उपचार सेवासम्बन्धी सम्झौता पत्रमा केएमसीको तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र सल्लाहकार इन्दिरा शर्मा (बराल) तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारका तर्फबाट परिषद्का अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हस्ताक्षर गरेका थिए । त्यस्तै नेपाली जनसम्पर्क समिति कतारसँग भएको सम्झौतामा समितिका सभापति मो. अजिज अलि र महामन्त्री केदार भुषालले हस्ताक्षर गरेका थिए ।

सांसद शर्माकै नेतृत्वमा केएमसी र नोवेल शिक्षण अस्पतालले पूर्वी नेपालदेखि पश्चिम नेपालको दूरदराजका स्थानहरुमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । शिविरमा उपचारको क्रममा रिफर भएका विरामीहरुको केएमसी र नोवेलमा निःशुल्क र सहुलियतमा उपचार हुने व्यवस्था पनि उनले गर्दै आएका छन् भने विभिन्न संघ सस्थाहरुसँग सम्झौता भई सहुलियतमा ती संघ सस्थाहरुमा आवद्ध विरामीहरुको सहुलियतमा उपचार पनि हुँदै आएको छ ।

Logo