जाडोमा कोरोना संक्रमण दर बढ्ला कि घट्ला ? के भन्छन् जनस्वास्थ्य विज्ञहरु ?

जाडोमा कोरोना संक्रमण दर बढ्ला कि घट्ला ? के भन्छन् जनस्वास्थ्य विज्ञहरु ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा दुई महिना अगाडिसम्म तिव्रगतिमा कोरोना संक्रमणदर बढ्दै गएको थियो । तर पछिल्लो एक महिनादेखि कोरोना भाइरस संक्रमितको दर दिनप्रतिदिन घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ ।

भदौ महिनामा एक्कासी संक्रमणदर बढेर दैनिक ५ हजारदेखि ६ हजारसम्म पुग्ने गरेको थियो । तर अहिले पहिलेको जस्तो संक्रमणदर बढेको छैन । संक्रमणदर घटेर हजार/पन्ध्र सयसम्ममा सीमित हुन थालेको छ । पछिल्लो एक साताको सरकारी तथ्यांक हेर्दा अझ कोरोना संक्रमण दर घट्दै गएको देखिन्छ ।

पहिलो पटक एक जनामा कोरोना संक्रमण हुँदा यसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि साउनसम्म सरकारले लकडाउन र निषेधाज्ञा लागू गरेको थियो । यसरी लकडाउनको अवधिमा खासै संक्रमण बढेको थिएन । तर साउनमा सरकारले लकडाउनको अन्त्य भएपछि संक्रमणदर ह्वात्तै उच्च भएको थियो । संक्रमण उच्च हुँदै गए पनि मानिसहरुको जनजीवन सामान्य बन्दै गएको र अहिले ६ महिनासम्म बन्द रहेका बजार, उद्योग, कलकारखाना, शैक्षिक संस्थाहरु विस्तारै संचालन हुन थालेका छन् ।

यता, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड सर्वसाधारणले पालना गर्न छाडेका छन् । सर्वसाधारणदेखि उच्च तहका व्यक्तिले समेत मापदण्ड पालना गर्न छाडेका छन् । पछिल्लो समय शहरी क्षेत्रमा पैदल हिँड्ने, सवारीमा यात्रा गर्ने, सभा–सम्मेलन, प्रदर्शन गर्नेहरुको भिड बढ्दै गएको छ । तर, कोरोना संक्रमणदर भने दिन प्रतिदिन घट्दै गएको छ ।

यसरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्यांकमा घटे जस्तै यथार्थमा संक्रमणदर नघटेको जन स्वास्थ्यविज्ञहरुले बताएका छन् । कोरोना संक्रमण पहिचानका लागि परीक्षण व्यापक बनाउँदै लैजानु पर्नेमा सरकारले परीक्षणको दर र दायरा घटाउदै लगेका कारण संक्रमणको दर कम देखिएको जन स्वास्थ्यविदहरुले बताएका छन् ।

त्यस्तै, पछिल्लो समय आम सर्व साधारणमा कोरोनाप्रतिको भय घट्दै गएको छ । तर अहिले नै यस्तो अवस्था भने आएको छैन । अहिले पनि कोरोना संक्रमणको सम्भावना झनै बढ्दै गइरहेको स्थिती छ । तर आम मानिसहरुले जनस्वास्थ्यका मापदण्डको पालना गर्ने कुरामा उदासिनता देखिएका छन् । त्यसैले अझै कोरोना संक्रमणको खतरा बढ्दै गएको छ ।

कोरोना महामारी नेपालमा मात्रै फैलिएको होइन । विश्वभरनै यसले संकट निम्त्याएको छ । तर विश्वका अन्य देशहरुले यसलाई रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डलाई पूर्णरुपमा पालना गरेकाले भाइरस नियन्त्रण बाहिर गएको छैन । अधिकांश देशहरुले जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्नेलाई कठोर दण्ड सजायँको व्यवस्था गरिएका छन् । तर नेपालमा दण्ड सजायँको व्यवस्था गरे पनि कतै पालना भएको पाईंदैन । पछिल्लो समय त नेपालमा कोरोना संक्रमण थियोे र भन्ने अवस्था आएको छ ।

यस्तो स्थितीमा अब नेपाललाई जनस्वास्थ्यविद्हरुले कसरी लिएका छन् ? अब नेपालमा कोरोना संक्रमणको पछिल्लो स्थिती के हुन्छ भन्ने विषयमा जन स्वास्थ्यविद्हरुको भनाई यस्तो छ :

सरुवा रोगको सिद्धान्त अनुसार कुनै पनि रोग एकदमै चरम उचाईको विन्दुमा पुगेको केही समयपछि ओरालो लाग्ने गर्दछ । त्यही सिद्धान्त अनुरुपमा अहिले कोरोना संक्रमणदर घट्दै गएको छ । अझै धेरै घट्दै जान्छ तर फैलिने उपयुक्त वातावरण पाए फेरि उग्ररुप लिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.बावुराम मरासिनीले बताए ।

उनका अनुसार अहिले विश्वव्यापीरुपमा महामारी फैलाइरहेको कोरोना भाइरस एक नयाँ रोग हो । त्यसैले यसको रोगथाम तथा नियन्त्रणका विभिन्न खोज अनुसन्धान भइरहेका छन् । यो रुघाखोकी त हो नि भनेर वेवास्ता गर्ने, हेलचेक्र्याइ गर्न नहुने कुरा हामीले भोगी सकेकाले सर्तक रहनु जरुरी छ । नेपालमा कोरोना फैलन सुरु हुने वितिकै नागरिकमा विदेशबाट आएका मानिसलाई मात्रै कोरोना संक्रमण हुन्छ, नेपालीलाई लाग्दैन भन्ने खालका भ्रमले नेपालको समुदायस्तरमा नै भित्रभित्रै कोरोना संक्रमण फैलिएको हो ।

यसरी समुदायस्तरमा फैलन थालेपछि पनि कोरोना संक्रमण भएमा वृद्धवृद्धा, दीर्घरोगीलाई मात्रै गाह्रो हुन्छ अरुलाई केही हुँदैन भन्ने जस्ता संचार भएका छन् । यस्तो सूचनाले गर्दा कोरोना संक्रमणदर बढ्दै गएको थियो । तर अहिले नेपालमा ठूला चाडपर्व पनि सकिएको तथा जाडो महिनामा व्यवसायीक गतिविधि पनि कम हुने भएकाले संक्रमण सर्ने पनि कम हुन्छ । यसले गर्दा पनि अझै कम हुँदै जाने उनको आंकलन रहेको छ । भारतमा कोरोना संक्रमणदर घटेकाले नेपालमा पनि घटेको हुन सक्ने उनको भनाइ छ ।

मरासिनीका अनुसार उपत्यका क्षेत्रमा घरबाहिर निस्कने मध्ये धेरैले पूर्णरुपमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण भित्रभित्रै फैलिएको हुन सक्छ । समुदायस्तरमा परीक्षण नगरी वास्तविकता थाहा नहुने उनले बताए । उनका अनुसार, उपत्यका क्षेत्रमा घरबाहिर निस्कने मध्ये धेरैले पूर्णरुपमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण भित्रभित्रै फैलिएको हुन सक्छ ।

त्यस्तै, अर्का जनस्वास्थ्यविज्ञ डा.रविन्द्र पाण्डेले पहिलो लकडाउनपछि दश हजारको परीक्षण गर्दा मर्नेको संख्या भन्दा अहिले ६ हजार नमुना परीक्षण गर्दा मर्नेको संख्या बढी भएकाले कोरोना संक्रमणदर घटेको भन्न नमिल्ने बताएका छन् ।

डा. पाण्डेका अनुसार कोरोना संक्रमणको दर घट्यो भनेर ढुक्क भइहाल्ने स्थिती छैन । वैदेशिक रोजगारीमा जाने, संक्रमण भएपछि पटकपटक परीक्षण गर्ने, आर्थिक अवस्था बलियो हुने र पहुँचमा भएका व्यक्तिहरुले मात्रै दोहोर्याएर पिसिआर परीक्षण गर्नाले अहिले परीक्षण गर्नेको डाटा बढेको छ । नत्र लक्षण देखिएका मानिसहरुले समेत पिसिआर परीक्षण गर्न छाडेका छन् । तर पनि परीक्षणको संख्या बढे पनि समुदायस्तरमा परीक्षण नगरी वास्तविकता थाहा नहुने बताउँदै उनले अहिले सरकारले सार्वजनिक गर्ने संक्रमित र मृत्यु हुनेको संख्याबारेमा समेत आशंका व्यक्त गरेका छन् ।

सरकारले मास्कको प्रयोगलाई मात्रै अनिवार्य बनाइदिने, भिडभाड गर्न नदिने, अनुुगमन गर्ने, होमआइसोलेशनमा बसेकालाई निगरानीमा राख्ने हो भने संक्रमण घट्दै जान्छ । जनस्वास्थ्यका मापदण्ड आम सर्वसाधारणले पनि आफू र परिवारको लागि भए पनि गम्भीर भएर पालना गर्नुको कुनै विकल्प नरहेको उनको भनाइ छ ।

सरकारले कोरोना परीक्षण र उपचार व्यक्ति आफैंले व्यवस्था गर्नुपर्ने नियम कार्तिक १ देखि घोषणा ग¥यो । त्यसपछि स्वास्थ्यमा समस्या देखिए पनि परीक्षण गर्न जानेको संख्या कम देखिन थालेको छ । अहिले सरकारी तथ्यांकमा संक्रमितको संख्या कम देखिएको छ तर वास्तविकता त्यसको विपरीत छ । कोरोना संक्रमणको शंका लागेका र लक्षणसमेत देखिएका मानिसलाई कोरोना परीक्षण र उपचार पहुँच बाहिर भएकाले संक्रमितको संख्या घटेको उनले बताए ।

मौसम परिवर्तन र बढ्दो चिसोसँगै घरघरमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या भएका बिरामी बढ्दै गइरहेका छन् । तर, यी लक्षण कोरोना संक्रमणले देखिएको हो वा मौसमी फ्लू हो, यकिन नगरिकनै त्यसलाई मौसमी फ्लू ठानेर वेवास्ता गर्ने धेरै भएका छन् ।

यथार्थमा आफूलाई कोरोनाको संक्रमण भएको हो वा अरु नै कुनै कारणले रुघाखोकी लागेको हो भन्ने कुरा परीक्षणद्वारा यकिन नगरिकनै सार्वजनिक यातयातमा यात्रा गर्ने, आन्दोलन तथा प्रर्दशनमा जनस्वास्थ्यका मापदण्ड नअपनाइकन हिँड्दा झन जोखिम बढ्दै जाने उनको भनाइ छ ।

त्यस्तै, शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालका डाक्टर शेरबहादुर पुनले अहिलेको अवस्थामा कोरोना संक्रमण बढ्छ की घट्छ भन्ने त्यतिकै आंकलन गर्न नसकिने बताएका छन् । उनले पछिल्लो समय सरकारले नै कोरोना परीक्षण र उपचार व्यक्ति आफैँले व्यवस्था गर्नुपर्ने नियम ल्याएपछि परीक्षण गर्नेको संख्या कम हुँदै गएको बताएका छन् । लक्षण देखिए पनि परीक्षण शुल्क महँगो भएकाले हत्तपत्त सबैले परीक्षण नगर्ने तथा अहिले कोरोनाको लक्षण देखिएको ४–५ दिनमा पनि निको नभइ गाह्रो भएपछि मात्रै कोरोना परीक्षण गर्न जानेको संख्या बढ्दै गएको उनको भनाई छ ।

विगतमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आउनेहरुको सम्पर्कमा आएका व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब संकलन गरिन्थ्यो तर अहिले ट्रेसिङ गर्ने काम समेत सेलाउँदै जाँदा नेपालमा संक्रमण दर घट्दै गएको देखिएको उनले बताए ।

अहिले परीक्षणको दायरालाई बढाउँदा नेगेटिभ रिपोर्ट आउन थाल्यो भने बल्ल संक्रमणदर घट्यो भन्न सकिने डा.पुनको दाबी छ । नेपालमा कोरोना संक्रमण कुन दरमा फैलिएको छ भनेर थाहा पाउनका लागि एन्टिजोनमार्फत परीक्षण नगरेर एन्टिवोडीबेसमा परीक्षण गर्दा प्रष्ट भन्न सकिने पनि उनको भनाइ छ ।

कोरोना फैलँदाको शुरुवाती चरणमा सुरु गरिएको आरडिटी परीक्षण अहिले समुदायस्तरमा परीक्षण गरेको खण्डमा संक्रमणदर घटेको वा बढेको थाहा पाउन सकिने डा.पुनले बताएका छन् । पछिल्लो पटक धेरै संक्रमण हुँदा र अहिले कम हुँदा पनि कोरोना संक्रमणका कारण ६० वर्षभन्दा माथिका व्यक्तिहरुको मृत्यु बढी रहेकाले अझै संक्रमण समुदायस्तरमा फैलिने क्रम रहेकाले तत्काल संक्रमणदर घट्यो भन्नलाई हतार गर्न नहुने पुनले बताएका छन् ।

Logo