जाडोमा ओठ फुटेर दिक्क हुनुहुन्छ ? अपनाउनुस् यी उपाय

जाडोमा ओठ फुटेर दिक्क हुनुहुन्छ ? अपनाउनुस् यी उपाय

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । चिसो मौसममा मानिसमा विभिन्न स्वास्थ्यसँग सम्बन्धित समस्याहरु देखा पर्ने गर्छ । जसमध्ये अधिकांशलाई ओठ फुट्ने समस्याले पनि अत्यन्तै सताउने गरेको पाइन्छ । ओठ फुट्ने समस्या व्यक्तिपिच्छे फरक हुँदै कसैको घाउ हुने, रगत आउने त कसैलाई खाना खानै पनि समस्या हुने गर्छ ।

आखिर के कारणले फुट्छ ओठ ?

चिकित्सकका अनुसार चिसो मौसममा पानीको मात्रा कमी भएर ओठ फुट्ने गर्छ । जाडोमा हामी कम पानी पिउने गर्छौं । शरीरमा पानीको कमीले ओठ सुक्खा हुन्छ र सजिलै फुट्छ । जाडो मौसममा हावा सुक्खा हुने भएकाले शरीरले हावाबाट पाउने मोइस्चराइजर पाउँदैन । जसकारण ओठ बढी फुट्ने गर्छ ।

यसका साथै, जाडोमा धेरै समय घाम तापेर बस्दा पनि ओठलाई सुक्खा गराउन सक्छ । किनभने सूर्यको किरणले ओठको नमी हटाउँछ र ओठ फुट्छ । जाडोमा ओठ सुक्खा हुँदा हामी बारम्बार छोइरहन्छौं वा जिब्रोले ओठ छोइराख्छौं, जसकारण ओठ बढी सुक्खा हुन थाल्छ र फुट्छ । यससँगै हरियो सागसब्जी तथा फलफूल नखाँदा, साथै कम गुणस्तरको लिपबाम तथा लिपस्टिकको प्रयोगले पनि ओठ फुट्ने गर्छ ।

पटक–पटक ओठमा जिब्रोले चलाउँदा, धेरै जाँड रक्सी र चुरोट सेवन गर्नेहरुमा यो समस्या बढी नै हुने गर्छ ।

अब कसरी हेरचाह गर्ने ?

ओठलाई शरीरका अन्य अंगलाई जस्तै घामबाट बचाउनुपर्छ । त्यसैले एसपीएफ भएको लिप बाम प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले पराबैजनी किरणहरूबाट हुने क्षतिबाट पनि सुरक्षा प्रदान गर्छ ।

जाडोको समयमा ओठ फुट्नबाट बच्न घरबाट बाहिर निस्किँदा घिऊ, मह, नरिवलको तेललगायत चिल्लो पदार्थ लगाउनुपर्छ । समय–समयमा ओठमा भिटामिन ई भएको लिप बाम लगाउनुपर्छ । बजारका जुनसुकै क्रिम ओठमा लागउनबाट जोगीनु पर्छ । साथै, चिसो मौसममा ओठ मात्र नभएर छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ।

चिसोका कारण ओठ फुटेर जमेका मृत छाला नङले अथवा औंलाले कोट्याएर निकाल्न हुँदैन । यसो गर्दा घाऊ भएर झनै समस्या बढ्छ । यदि ओठ फुटेर घाऊ नै भएमा एन्टिबायोटिक क्रिम लगाउन पनि चिकित्सकहरु सुझाउँछन् ।

Logo