हुम्लाको चंखेलीमा २० करोडको लगानीमा पाँच शैय्याको अस्पताल निर्माण हुँदै

हुम्लाको चंखेलीमा २० करोडको लगानीमा पाँच शैय्याको अस्पताल निर्माण हुँदै

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपाल सरकार, भारतीय दूतावास र स्थानीय तहबिच प्रभावकारी सामुदायिक विकास आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र नौ स्थानीय तहबिच शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौताअनुसार भारत सरकारले नौवटा स्थानीय तहमा विद्यालय संरचना तथा स्वास्थ्य चौकी निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराउनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सम्झौताअनुसार चंखेली गाउँपालिका हुम्लामा पाँच शैय्याको अस्पताल निर्माण गर्न भारत सरकारले आर्थिक सहयोग गर्नेछ ।

चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले गाउँपालिकाले नेपाल सरकारसँग समन्वय गरी पाँच शैय्याको अस्पताल निर्माणका लागि प्रस्ताव पेश गरेको जानकारी दिए । उनका अनुसार संघीय मामिला मन्त्रालयमार्फत भारतीय दूतावासलाई पठाइएको प्रस्ताव अनुमोदन भइसकेको छ र छिट्टै अस्पताल निर्माण कार्य सुरु हुनेछ ।

‘हुम्ला नेपालकै विकट जिल्ला हो, यहाँबाट सुविधा सम्पन्न अस्पतालसम्म पुग्न झण्डै दुई दिनको यात्रा गर्नुपर्छ, स्वास्थ्य सेवा अभावका कारण धेरै नागरिकले अकालमै ज्यान गुमाइरहेका छन्, यसकारण हामीले पाँच शैय्याको अस्पतालका लागि पहल गरेका थियौं, जुन सफल भएको छ,’ उनले भने ।

अस्पताल निर्माण भएपछि प्राथमिक स्वास्थ्य सेवाबाट वञ्चित स्थानीयवासीलाई सहज उपचार सुविधा उपलब्ध हुने विश्वास शाहीले व्यक्त गरे । उनका अनुसार अस्पताल निर्माणको सम्पूर्ण प्रक्रिया नेपाल सरकारको कानूनअनुसार अघि बढाइनेछ ।

डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको छ, टेन्डर आह्वान गरेर काम अघि बढाइनेछ । अनुमानित लागत २० करोड रुपैयाँ रहेको उक्त अस्पताल १८ महिनाभित्र सम्पन्न गरिनेछ ।शाहीले अस्पताल निर्माणका लागि समन्वय गर्ने नेपाल सरकार, भारतीय दूतावास तथा अन्य सरोकारवालाहरूप्रति आभार प्रकट गर्दै निर्माण कार्य तत्काल सुरु गरिने बताइएको छ ।

Skip This
Skip This
Logo