काठमाडौं । नेपाली कांग्रेसका संघीय सांसद डा. सुनिल शर्माकाे पहलमा मोरङको बेलबारी नगरपालिका–३ निवासी ३८ वर्षीय जापान सिंह लिम्बुकाे काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएकाे छ ।
केएमसीका युरोलोजिष्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा. विजयमान सिंह कटुवाल, रेनल ट्रान्सप्लान्ट नेफ्रोलोजिस्ट डा. सुरेश महर्जन लगायतको टिमले किड्नी सफलतापूर्वक प्रत्यारोपण गराएका हुन् । लिम्बु तीन वर्षदेखि मिर्गौला फेल भएर पीडामा थिए। कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न असमर्थ रहेका उनी मृत्युको प्रतिक्षामा बस्न बाध्य भएका थिए।
यस पीडादायी अवस्थाको जानकारी पाएपछि स्थानीय युवा नेता तथा समाजसेवी रिक्त गुरुङले सांसद डा. शर्मासमक्ष पुर्याएका थिए । खबर पाएलगत्तै डा. शर्माले लिम्बुको घरमै पुगेर अवस्थाको जानकारी लिएकाे र तत्काल सम्पर्क गरी आवश्यक सबै उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएका हुन् ।
केएमसीका एसाेसिएट प्राेफेसर युरोलोजिष्ट एवं किड्नी ट्रान्सप्लान्ट सर्जन डा. विजयमान सिंह कटुवालले एकदमै जटिल अवस्थामा आएका बिरामीकाे ठूलो चुनौती मोलेर किड्नी ट्रान्सप्लान्ट गरिएको सुनाए ।
यसैगरी एसाेसिएट प्राेफेसर रेनल ट्रान्सप्लान्ट नेफ्रोलोजिस्ट डा. सुरेश महर्जनले अपरेशनको क्रममा बिरामीको पेटबाट १२ लिटर पानी निकाल्नु परेको बताए।
उपचारपछि बिरामी जापान सिंह लिम्बुले खुसी व्यक्त गर्दै विगत तीन वर्षदेखि किड्नी बिग्रेका कारण उपचारमा रहेको र अहिले मुक्ति पाएकाे बताए ।
सिंहलाई उनका ६० वर्षीय पिता धनप्रसाद लिम्बुले मिर्गौला दान गरेका हुन् । सफल अपरेशनपछि अहिले लिम्बुको स्वास्थ्यमा सुधार भएको छ।
डा. शर्मा प्रतिनिधिसभाका एक मात्र सांसद हुन्, जसले अहिलेसम्म तलब–भत्ता लिएका छैनन् । उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । यस्ता शिविरबाट उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउने उनको पहल निरन्तर जारी छ ।































प्रतिक्रिया