कालिमाटी तरकारी बजारमा काँक्रो, घिरौँला र हरियो फर्सीमा भेटियो अत्यधिक विषादी

कालिमाटी तरकारी बजारमा काँक्रो, घिरौँला र हरियो फर्सीमा भेटियो अत्यधिक विषादी

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको काँक्रो,घिरौँला र हरियो फर्सीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

मकवानपुरबाट कालीमाटी तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सीमा ४५.५९ प्रतिशत, धादिङबाट ल्याइएको घिरौँलामा ६५.०३ र काठमाडौंमै उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा हरियो फर्सी, काँक्रो र घिरौँलामा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएका यी तरकारी उपभोग अयोग्य रहेको समितिले जनाएको छ ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।

यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

यसअघि असार अन्तिम साता पनि पनि रायो साग, घिउसिमी लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।

Logo