शिविरबाट एक हजार ३७५ लाभान्वित

शिविरबाट एक हजार ३७५ लाभान्वित

केन्द्रबिन्दु
6
Shares

गलकोट (बागलुङ) । जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् । आँखाको शल्यक्रियासहित जैमिनीमा शिविर आयोजना गरिएको हो ।

शिविरमा आँखा र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षणसँगै आँखाको शल्यक्र्रिया र स्त्रीरोगमा भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । असोज १९ देखि २२ गतेसम्म जैमिनी नगरपालिकाको दुर्गम गाउँमा पुगेर बिरामीको परीक्षण तथा आँखाका जटिल बिरामीको सिफारिस गरिएकामा असोज २३ गतेदेखि चार दिनसम्म जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा शल्यक्र्रिया तथा भिडियो एक्सरे सेवा प्रदान गरिएको जैमिनीका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

“यस प्रकारको विशेषज्ञ सेवा लिन नगरवासीले करोडौँ खर्चनु पर्दथ्यो, हाम्रो पहलमा गाउँमै निःशुल्क विशेषज्ञ सेवा दिइएको छ, आँखाको शल्यक्र्रिया सहरमा महँगो पर्दथ्यो, शिविरले गाउँमै निःशुल्क बनायो”, शर्माले भने, “शल्यक्र्रियासहितको पहिलो शिविर जैमिनीमा भएको हो, विशेषज्ञ चिकित्सकसहित दुई दर्जन बढी स्वास्थ्यकर्मी शिविरमा सहभागी थिए ।”

शिविरमा स्त्रीरोग विशेषज्ञ डा केशव भुर्तेल, हिमालय आँखा अस्पतालका प्रमुख डा हरिविक्रम अधिकारी, रेडियोलोजिष्ट डा कालु शर्मालगायत स्वास्थ्यकर्मी शिविरमा सहभागी थिए ।

शिविरमा एक हजार १३६ जनाको आँखाको परीक्षण गरेकामा ५८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । यस्तै आँखाको परीक्षणपश्चात ४५० जनालाई निःशुल्क चश्मा र आवश्यकताअनुसार औषधि वितरण गर्नुका साथै स्त्रीरोगसम्बन्धी परीक्षणमा दुई सय ३९ जना महिलाले सेवा लिएकामा दुई सय आठ जनाको भिडियो एक्सरे गरिएको थियो ।

Skip This
Skip This
Logo