काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि सातवटै प्रदेशमा टोली परिचालन गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रत्येक प्रदेशमा विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार नर्सिङ कर्मचारीका समस्यासहित तलब तथा सेवासुविधासम्बन्धी, जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण, जेनजी क्लिनिक सञ्चालनको अवस्थालगायत क्षेत्रमा भएका समस्याबारे अध्धयन गरी समाधान गर्नका विकल्प पहिल्याउन उक्त टोली खटाइने छ ।
उक्त टोलीले समस्या समाधानका लागि सङ्घीय, प्रादेशिक एवं स्थानीय तहका सम्बन्धित निकायको समन्वयमा छलफल तथा सहजीकरण गर्नेछ । यस्तै मन्त्रालयले मातहतका विभाग, केन्द्र र महाशाखालाई परिवर्तित सन्दर्भमा जनचाहना बमोजिम स्वास्थ्य क्षेत्रको क्षेत्रगत सुधार गर्न सम्बन्धित कार्यक्रमको कार्ययोजना पनि प्रस्तुत गर्न भनिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उल्लेख गरे।
ती निकायलाई अल्पकालीन तत्कालीन (३) दिनभित्र सम्पन्न हुनसक्ने, मध्यकालीन (६) दिनभित्र सुरुवात हुने र दीर्घकालीन (सुदूर भविष्यमा प्रभाव पार्ने) सूची पठाउन निर्देशन दिइएको उनले जानकारी दिए।
मन्त्रालय मातहतका विभाग तथा सङ्घीय अस्पतालबाट हुने सार्वजानिक खरिद प्रक्रिया, औषधि दर्ता प्रक्रियालाई पारदर्शी र जनमैत्री बनाउन निर्देशन दिइएको उनले बताए ।
मन्त्रालय मातहतका निकायबाट सम्पादन कार्यको बारेमा आउने गुनासाका तत्काल सम्बोधन गर्न पनि निर्देशन दिइएको उनले उल्लेख गरे ।































प्रतिक्रिया