काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेपनि हाम्रो टीम नेपालले खाना खुवाएको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउन आग्रह गरिए पनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिए ।
महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा भेला गराएर नभई कुनै पनि ठाउँमा व्यवस्थित गरि खाना खुवाउन हाम्रो टीम नेपाललाई आग्रह गरेको थियो । सोहीअनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि गरिएको थियो । तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरु बाध्य भएको पन्तको भनाइ छ । आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजेको भएपनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको उनको दाबी छ । खाना खान आउने मानिसहरुले भने खुलामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘कि काम देउ होइन भने खान देउ’ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् । कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आई निःशुल्क वितरण गरिएको खाना खान बाध्य भएको उनीहरुको भनाइ छ । सडकमा बसेर खाना खान आफूहरुलाई रहर नभई बाध्यता भएको पनि उनीहरु बताउँछन् ।
हाम्रो टीम नेपालले गत चैत ११ गतेदेखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परका व्यक्तिहरुलाई चैत १४ गतेदेखि खाना खुवाउँदै आएको छ । सुरुमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा खाना खुवाउँदै आएको छ । तर काठमाडौं महानगरपालिकाले अव्यवस्थित रुपमा खाना खुवाउँदा संक्रमण फैलने डर बढी भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको थियो । व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहायोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ ।









































प्रतिक्रिया