कोरोना बीमा गरेका व्यक्तिको पिसिआर परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने

कोरोना बीमा गरेका व्यक्तिको पिसिआर परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को बीमा गरेका व्यक्तिको खर्च नबेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कुनै बीमा कम्पनीबाट कोभिड–१९ का बीमा गरेको व्यक्तिले सबै पिसिआर परीक्षण र उपचार खर्च सरकारले नबेहोरी निजको बीमा रकमबाट व्यहोरिने जानकारी दिए । उनले कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सूचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोभिड–१९ का लक्षण वा चिन्ह देखिएका बिरामीको परीक्षण र उपचार खर्च निःशुल्क गरिने जानकारी दिए ।

सर्वोच्च अदालतको आदेशपछि कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । यसअघि सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक, अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत रहेका कर्मचारीको मात्र निःशुल्क परीक्षण र उपचार खर्च बेहोर्ने भएको थियो । सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचार खर्चमा आफैं योगदान गर्न सक्ने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।

काठमाडौं उपत्यकामा आज ८३५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १८० संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा ७७ हजार ६४५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ४४ जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार १६२ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९५ हजार ८५१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । आज १ हजार ९४६ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २१५ पुगेको छ । आज मात्र १३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ७० हजार ६६२ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ५०३ छ ।

आजको पिसिआर परीक्षण ८ हजार ७५३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख २ हजार ६०३ रहेको छ । आज ३६ हजार ४५२ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo