कञ्चनपुर। पाठेघरको मुखको क्यान्सर रोक्न कञ्चनपुरमा आजदेखि ‘एचपिभी’ खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका ५,६७८ जना छात्रा र किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ। अभियान फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।
स्वास्थ्य कार्यालयका अधिकृत जनकबहादुर कुँवरका अनुसार यस वर्ष कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइँदैछ। गत वर्ष छुटेका कक्षा ७–१० का छात्रा र ११–१४ वर्षका किशोरीलाई पनि खोप दिइनेछ।
जिल्लाका नौवटै स्थानीय तहमा ४६५ खोप केन्द्र तयार गरिएको छ। यसमा ३६२ विद्यालय र १०३ स्वास्थ्य संस्था छन्। भीमदत्त नगरपालिकामा १,३९०, कृष्णपुर ८४३, पुनर्वास ७४३, बेदकोट ६०६, शुक्लाफाँटा ५४७, बेलौरी ५६१, दोधारा चाँदनी ५१०, लालझाडी २५० र बेलडाँडी २२८ किशोरीलाई खोप दिने योजना छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये उच्च जोखिमयुक्त रोग हो। ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) यस रोगको मुख्य कारण हो। किशोरी अवस्थामै खोप लगाउनु क्यान्सर रोक्ने प्रभावकारी उपाय हो।
अभियानका लागि प्रत्येक खोप केन्द्रमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरिएको छ। सबै खोप केन्द्रमा खोप र आवश्यक सामग्री उपलब्ध गराइएको छ। सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत देशभर किशोरी लक्षित एचपिभी खोप अभियान सञ्चालन गर्दै आएको छ।





























प्रतिक्रिया