काठमाडौँ। श्वासप्रश्वाससम्बन्धी बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले ललितपुर महानगरपालिका–१३ मानभवनमा ‘नेसनल चेष्ट सेन्टर’ सञ्चालनमा आएको छ । श्वासप्रश्वास (छाती) सम्बन्धी रोग बढ्दै गएको सन्दर्भमा एकीकृत सेवा दिने केन्द्र स्थापना गरिएको जनाइएको छ ।
सेन्टरबाट फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स–रे तथा अन्य इमेजिङ सुविधा, एलर्जी र दम परीक्षण, सिओपिडी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन श्वासप्रश्वास रोगको उपचार, कोभिडपश्चात् फोक्सो परीक्षण, धुमपान त्याग परामर्श, विशेषज्ञ परामर्श तथा नियमित फलोअप सेवा उपलब्ध गराइने छ । प्रयोगशाला र फार्मेसी सेवा पनि सञ्चालनमा रहने जनाइएको छ ।
सेन्टरले उपचारसँगै श्वासप्रश्वास रोगको रोकथाम र जनचेतना अभिवृद्धिलाई पनि प्राथमिकता दिएको जनाएको छ । नियमित स्वास्थ्य परीक्षण, वायु प्रदूषणबाट जोगिने उपाय, सुर्तीजन्य पदार्थ त्याग र विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उल्लेख गरिएको छ ।
बढ्दो वायु प्रदूषण, बदलिँदो जीवनशैली, धुमपान तथा कोभिड–१९ पछिको अवस्थाले श्वासप्रश्वास रोगलाई चुनौतीका रूपमा उभ्याएको सन्दर्भमा विशेषज्ञ सेवा केन्द्र आवश्यक भएको बताइएको छ । सेन्टरले काठमाडौँ उपत्यकासहित देशभरबाट आउने बिरामीलाई सेवा दिने लक्ष्य लिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक वर्ष ठूलो सङ्ख्यामा मानिस श्वासप्रश्वास रोगबाट प्रभावित हुने गरेका छन् । नेपालमा पनि १०–१२ प्रतिशत वयस्कमा दीर्घकालीन श्वासप्रश्वास समस्या रहेको अनुमान विभिन्न अध्ययनले गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्कअनुसार कुल मृत्युमध्ये झन्डै नौ–दश प्रतिशत सिओपिडीलगायत दीर्घकालीन फोक्सो रोगसँग सम्बन्धित छन् ।
कोभिड–१९ पछि लामो समयसम्म श्वासप्रश्वास समस्या देखिने ‘लङ कोभिड’का बिरामी बढेको चिकित्सकहरूको अनुभव छ । काठमाडौँ उपत्यकामा उच्च वायु प्रदूषण, सवारीसाधनको चाप, निर्माणकार्यबाट उड्ने धुलो, उद्योगजन्य उत्सर्जन र फोहर दहनले समस्या थपिएको उल्लेख गरिएको छ ।
सुर्तीजन्य पदार्थको प्रयोग, परोक्ष धुमपान तथा ग्रामीण क्षेत्रमा जैविक इन्धनबाट निस्कने धुवाँले पनि श्वासप्रश्वास रोगको जोखिम बढाएको बताइएको छ ।
यी चुनौतीलाई ध्यानमा राख्दै सेन्टरमा छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ चिकित्सकको टोलीमार्फत परामर्श, परीक्षण र उपचार सेवा सञ्चालन गरिने जनाइएको छ ।































प्रतिक्रिया