कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै उच्च रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको संख्या ७,६८३ पुगेको छ।
कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३,३४९ जनामा डेङ्गु पुष्टि भएको थियो। आव २०८१/८२ मा संख्या सामान्य कमी आए पनि ३,३१६ जनामा सङ्क्रमण देखा परेको थियो। चालु आर्थिक वर्षमा हालसम्म १,०१८ जनामा डेङ्गु देखिएको छ।
जोशीले भने, “डेङ्गुको ग्राफ केही घटेको देखिए पनि जोखिम टरेको छैन। विशेषगरी तराईका जिल्लामा यसको प्रभाव अझै बढी छ।” कैलाली र कञ्चनपुर जिल्लामा सबैभन्दा धेरै प्रभावित भएको उल्लेख गरिएको छ।
जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण पहाडी जिल्लामा पनि डेङ्गु देखिन थालेको छ। नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएका छन्।
स्वास्थ्यकर्मीहरूले घर वरिपरि पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउनुपर्ने चेतावनी दिएका छन्। एडिस एजिप्टी जातको लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको लक्षण देखिए जस्तो कि ज्वरो, जोर्नी दुखाइ र टाउको दुखाइ, तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन निर्देशन दिइएको छ।





























प्रतिक्रिया