धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा रगत अभाव

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा रगत अभाव

केन्द्रबिन्दु
12
Shares

सुनसरी। निर्वाचनका कारण केही समयदेखि रक्तदान कार्यक्रम कम हुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा रगत अभाव भएको छ । रगत अभावका कारण प्रतिष्ठानमा उपचार गराइरहेका बिरामीहरूको उपचार व्यवस्थापन प्रभावित हुन थालेको छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीले प्रतिष्ठान परिसरभित्र सञ्चालन गरेको ब्लड बैंकमा विभिन्न ब्लड ग्रुपको रगत अभाव भएको जनाएको छ । रेडक्रस सुनसरीका सभापति उमेश थापाका अनुसार विशेषगरी बी पोजेटिभ, एबी पोजेटिभ, ओ नेगेटिभ र बी नेगेटिभ समूहको रगत अभाव छ । हाल ब्लड बैंकमा ए र ओ समूहको रगत मात्र सीमित मात्रामा उपलब्ध रहेको छ ।

रगत अभावका कारण प्रतिष्ठानमा उपचाररत बिरामीलाई समस्या भइरहेको चिकित्सकहरूको भनाइ छ । विशेषगरी गर्भवती महिलाको शल्यक्रिया तथा दुर्घटनामा परेका बिरामीहरूको आकस्मिक उपचारमा कठिनाइ देखिएको छ ।

प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. रोहित रिजालका अनुसार आवश्यक रगत उपलब्ध नहुँदा गर्भवती महिलाको सुत्केरी गराउने प्रक्रियामा समेत समस्या देखिन थालेको छ । शल्यक्रियाका लागि आवश्यक रगत नपुग्दा उपचार व्यवस्थापन चुनौतीपूर्ण बनेको उनले बताएका छन् ।

धरानमा देखिएको रगत अभावको समस्या समाधान गर्न नेपाल रेडक्रस सोसाइटी सुनसरीले विभिन्न सामाजिक सङ्घसंस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ । रेडक्रसले नागरिकलाई प्रतिष्ठानको ब्लड बैंकमा पुगेर स्वेच्छिक रक्तदान गरी बिरामीको जीवन बचाउन सहयोग गर्न अपिल गरेको छ ।

Logo