लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

केन्द्रबिन्दु
0
Shares

मुस्ताङ। माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा छ। नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको २७ कोठाको आधारभूत अस्पताल भवन सञ्चालनमा आउन सकेको छैन।

माथिल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित धुराङ क्षेत्रमा एक वर्षअघि सम्पन्न भएको पाँच शय्याको आधारभूत अस्पताल भवन जनशक्ति तथा आवश्यक उपकरणको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन बनेको हो। सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा दुई तले आधारभूत स्वास्थ्य सेवा अस्पताल भवन निर्माण गरिएको थियो।

आव २०७८/०७९ मा निर्माण सुरु गरिएको उक्त अस्पताल भवन गत वर्ष फागुनमा सम्पन्न भएको थियो। दुई वर्षको सम्झौता अवधिमा निर्माण गर्ने योजना भए पनि कोभिड–१९ महामारीका कारण निर्माण कार्य एक वर्ष ढिलो गरी सम्पन्न भएको थियो।

सात करोड १९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको लोमान्थाङस्थित आधारभूत अस्पताल भवन लोमान्थाङ बजारदेखि करिब आधा घण्टाको दूरीमा पर्छ। विशेषज्ञ चिकित्सकसहित सेवा सञ्चालन गर्ने लक्ष्यसहित शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्ष तथा चिकित्सक र स्वास्थ्यकर्मी बस्नका लागि आवाससहितको संरचना निर्माण गरिएको छ।

माथिल्लो मुस्ताङमा आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकी र स्वास्थ्य इकाइहरू भए पनि विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध नहुँदा स्थानीयले समस्या भोगिरहेका छन्। गम्भीर बिरामी हुँदा १०० किलोमिटर दूरी पार गर्दै जोमसोम जानुपर्ने बाध्यता छ। कतिपय अवस्थामा जोमसोममा पनि भरपर्दो सेवा नपाउँदा पोखरा वा काठमाडौँसम्म पुग्नुपर्ने अवस्था रहेको छ।

लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नर्बु गुरुङका अनुसार आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र पूर्वाधारको अभावका कारण अस्पताल सञ्चालन हुन सकेको छैन। चिकित्सक तथा अन्य जनशक्तिको दरबन्दी र आवश्यक उपकरणको व्यवस्था भए अस्पताल सञ्चालन सम्भव हुने बताइएको छ।

चालु वर्ष गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रीले माथिल्लो मुस्ताङ भ्रमणका क्रममा अस्पतालका लागि आवश्यक उपकरण खरिद गर्न लागत स्टेमेट र विवरण पठाउन निर्देशन दिएका थिए। त्यसअनुसार गाउँपालिकाले करिब डेढ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण खरिदका लागि आवश्यक कागजातसहित विवरण प्रदेश सरकारलाई पठाइसकेको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यस विषयमा थप प्रगति के भयो भन्ने स्पष्ट हुन सकेको छैन। प्रदेश सरकारबाट लागत विवरण स्वीकृत भएपछि मन्त्रिपरिषद् बैठकमार्फत आवश्यक सामग्री व्यवस्थापन गर्ने भनिए पनि प्रक्रिया अझै अन्योलमा रहेको बताइएको छ।

रङ्गरोगनसहित निर्माण सम्पन्न भएको पाँच शय्याको अस्पताल भवनमा तत्कालका लागि हेल्थ पोस्ट स्थानान्तरण गरी सामान्य स्वास्थ्य सेवा सञ्चालन गर्न सकिने अवस्था भए पनि भवन लोमान्थाङ बजारदेखि टाढा रहेकाले स्थानीय समुदायका लागि अपायक हुने देखिएको छ।

माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटकलाई भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन निर्माण गरिएको अस्पताल सञ्चालनका लागि सङ्घीय र प्रदेश सरकारको ध्यान आवश्यक देखिएको छ।

Skip This
Skip This
Logo