सामुदायिक विद्यालय–अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै महानगर

सामुदायिक विद्यालय–अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै महानगर

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न सुरु गरेको छ। खाद्य व्यवसायीलाई क्षमता विकास तालिम र अनुगमन कार्यक्रम एकसाथ अगाडि बढाउँदै उपभोक्ताको स्वास्थ्य र सुरक्षित खाना सुनिश्चित गर्ने कामपाको प्रयास छ।

महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालय र अस्पतालका क्यान्टिनमा नियमित अनुगमन गर्दै आएको छ। यसअघिसम्म पशुपति मित्र माध्यमिक विद्यालय (जानकी किचेन), शिवपुरी माध्यमिक विद्यालय, रत्नराज्य स्कुल, केएमसी अस्पताल (ग्रीन बड्स बेकरी क्याफे), भरोसा अस्पताल लगायतका क्यान्टिन अनुगमन गरिसकेको छ।

कामपाले २३ मिल नर्ससहित ४५ जनालाई खाद्य स्वच्छता, पोषण र दिवा खाजासम्बन्धी तालिम दिएको छ। तालिममा सुरक्षित खाना ह्यान्डलिङ, रोग रोकथाम, पोषणयुक्त दिवा खाजा व्यवस्थापन र स्कुल नर्सको भूमिका समेटिएको छ।

अनुगमनका क्रममा कमजोरी देखिएमा सुझाव दिने र अखाद्य वस्तु भेटिएमा नष्ट गरिएको छ। निरीक्षणमा क्यान्टिनमा सरसफाइ, संरचनागत सुधार, खाद्यवस्तु सुरक्षित राख्ने, फोहर व्यवस्थापन, फ्राइड तेलको मापदण्ड पालन र आगो सुरक्षाका उपकरणको ध्यान नदिने समस्या पाइएको छ।

महानगरपालिकाले नियमित अनुगमन र तालिममार्फत बालबालिका र उपभोक्ताका लागि सुरक्षित र गुणस्तरीय खाना सुनिश्चित गर्ने योजना अघि बढाएको छ।

Logo