कञ्चनपुर। विद्यालयमा अध्ययनरत विद्यार्थीमा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सञ्चालन गरिएको छ। बालबालिकाको अध्ययनमा असर पार्ने दृष्टि समस्यालाई प्रारम्भिक चरणमै पहिचान गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।
नेपाल नेत्रज्योति सङ्घको आर्थिक सहयोग तथा गेटा र महेन्द्रनगर आँखा अस्पतालको समन्वयमा सञ्चालन भएको कार्यक्रमअन्तर्गत जिल्लाका १० सरकारी तथा सामुदायिक विद्यालयका करिब तीन हजार विद्यार्थीको आँखा परीक्षण गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममार्फत विद्यालयमै पुगेर विद्यार्थीको आँखा जाँच, दृष्टि दोष पहिचान र आवश्यक उपचारको व्यवस्था गरिनेछ।
गेटा–महेन्द्रनगर आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत वीरसिंह धामीका अनुसार विद्यार्थीमा देखिने दृष्टि समस्यालाई प्रारम्भिक चरणमै पहिचान गर्न विद्यालयमै पुगेर आँखा परीक्षण गर्ने अभियान सञ्चालन गरिएको हो। दृष्टि दोष देखिएका विद्यार्थीलाई आवश्यक परामर्श, चश्मा तथा औषधि निःशुल्क उपलब्ध गराइने र थप उपचार आवश्यक परे गेटा तथा महेन्द्रनगर आँखा अस्पतालमा उपचारको व्यवस्था गरिएको छ।
विद्यालय उमेरका बालबालिकामा दृष्टि दोषको समस्या बढ्दो क्रममा रहेको जनाइएको छ। एक अध्ययनअनुसार विद्यालयमा अध्ययनरत करिब ३.५ प्रतिशत विद्यार्थीमा दृष्टि दोष देखिने गरेको छ। यस्तो समस्या समयमै पहिचान नभए बालबालिकाको पढाइमा ध्यान केन्द्रित गर्ने क्षमता र समग्र शैक्षिक उपलब्धिमा असर पर्ने सम्भावना रहने बताइएको छ। विद्यालय उमेरका बालबालिकाले आफ्ना समस्या सहज रूपमा व्यक्त गर्न नसक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक पर्ने देखिएको छ।
हालसम्म दोधरा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका तीन विद्यालयमा आँखा जाँच कार्यक्रम सम्पन्न भइसकेको छ। ती विद्यालयका एक हजार १५५ विद्यार्थीको आँखा परीक्षण गरिएको छ। परीक्षणका क्रममा ६५ विद्यार्थीमा दृष्टि समस्या देखिएपछि निःशुल्क चश्मा वितरण गरिएको छ भने २७ विद्यार्थीलाई थप उपचारका लागि गेटा तथा महेन्द्रनगर आँखा अस्पतालमा पठाइएको छ।
कार्यक्रमअन्तर्गत एक सय ५० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गर्ने लक्ष्य राखिएको छ। आवश्यक पर्ने विद्यार्थीलाई औषधि तथा उपचार सेवा पनि निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ। बालबालिकामा दृष्टि दोष हुने प्रमुख कारणमा आँखाको कमजोरी, लामो समय मोबाइल वा टेलिभिजन प्रयोग, अपर्याप्त प्रकाशमा पढाइ, पोषणको कमी तथा आनुवंशिक कारणलाई मानिएको छ। समयमै उपचार नभए बोर्डमा लेखिएको कुरा स्पष्ट नदेखिने, पढाइमा रुचि कम हुने, टाउको वा आँखा दुख्ने समस्या देखिन सक्छ।
अभिभावकलाई बालबालिकाको दृष्टि अवस्थाबारे समय–समयमा जानकारी लिन र नियमित आँखा परीक्षण गराउन आग्रह गरिएको छ। विद्यालय प्रशासनले माग गरे चिकित्सकसहितको टोली विद्यालयमै पुगेर निःशुल्क आँखा परीक्षण सेवा उपलब्ध गराउने तयारी रहेको जनाइएको छ। यसले ग्रामीण तथा दूरदराजका विद्यार्थीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया