पाँचथर। हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा परीक्षण गरिएका व्यक्तिमध्ये १२ प्रतिशतमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी समस्या देखिएको छ।
३० वर्षभन्दा माथिका ४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा यस्तो अवस्था देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। परीक्षणमा सहभागी नभएका र सामान्य जीवनयापन गरिरहेका व्यक्तिमा समेत रोगका लक्षण भेटिएको बताइएको छ।
गाउँपालिकाले पहिचान भएका बिरामीलाई परामर्शसँगै उपचारको व्यवस्था गरेको छ। मधुमेह र उच्च रक्तचापका बिरामीका लागि निःशुल्क औषधि वितरणसमेत भइरहेको छ।
स्वास्थ्य संस्थाहरूले समुदायस्तरमा सचेतना बढाउन विवाह, भोजभतेरजस्ता कार्यक्रममा पनि स्वास्थ्य परीक्षण गर्ने गरेका छन्। साथै ‘सेटलाइट क्लिनिक’मार्फत महिनामा दुई दिन वडास्तरमा पुगेर प्राथमिक उपचार, पोषण, मातृत्व र परिवार नियोजनसम्बन्धी सेवा तथा जानकारी दिइँदै आएको छ।
स्क्रिनिङका क्रममा चार जनामा कालाजार र छ जनामा क्षयरोग पनि भेटिएको छ। स्वास्थ्य शाखाका अनुसार पहाडी क्षेत्रमा कालाजार देखिनु सामान्यभन्दा फरक अवस्था हो, जसपछि सचेतना कार्यक्रम विस्तार गरिएको छ।
गाउँपालिकाले खोजपड्ताल, उपचार र औषधि वितरणलाई निरन्तरता दिँदै नसर्ने तथा सरुवा रोग नियन्त्रणमा जोड दिएको छ।





























प्रतिक्रिया