चितवन। चितवनका सातै स्थानीय तहमा बाख्रालाई पिपिआर (एएच) रोगविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिने भएको छ । अभियान चैतको तेस्रो सातादेखि सुरु हुने जनाइएको छ ।
पशु सेवा कार्यालयका अनुसार जिल्लामा रहेका करिब दुई लाख ५० हजार बाख्रालाई खोप लगाउने लक्ष्य राखिएको छ । हाल जिल्लामा करिब तीन लाख बाख्रा रहेको तथ्याङ्क छ ।
पिपिआर रोग भाइरसका कारण लाग्ने र यसले बाख्रामा उच्च ज्वरो, झाडापखाला, मुखमा घाउ, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिने बताइएको छ । संक्रमण भएपछि छोटो समयमा नै बाख्रा मर्ने जोखिम रहने भएकाले खोपलाई महत्वपूर्ण मानिएको छ ।
रोग एक बथानबाट अर्कोमा सजिलै सर्ने भएकाले गोठको सरसफाइ, जैविक सुरक्षा अपनाउने र रोगी बाख्रालाई अलग राख्ने सुझाव दिइएको छ ।
यस रोगबाट बच्न तीन महिना उमेर पुगेका स्वस्थ बाख्रालाई नियमित रूपमा खोप लगाउनुपर्ने र नयाँ बाख्रा ल्याउँदा पनि खोप लगाएर मात्र बथानमा मिसाउन आग्रह गरिएको छ ।































प्रतिक्रिया