डोल्पा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि प्रदेश सरकारसँग माग

डोल्पा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि प्रदेश सरकारसँग माग

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । कर्णाली प्रदेश अन्तर्गत डोल्पा जिल्लाको जिल्ला अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने भन्दै स्थानीय सरोकारवालाले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार नागरिक समाज डोल्पाले जिल्ला प्रशासन कार्यालयमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुर्खेतमा ज्ञापन पत्र बुझाउँदै उक्त विषयमा पहल गर्न आग्रह गरेको हो। ज्ञापन पत्रमा दुर्गम भौगोलिक अवस्था र पछाडि परेको सामाजिक-आर्थिक सूचकांकलाई आधार मानेर डोल्पा अस्पताललाई प्राथमिकतामा राखिनुपर्ने उल्लेख गरिएको छ।

निक साइमन्स इन्स्टिच्युटले सञ्चालन गर्ने विशेषज्ञ सेवा कार्यक्रम अन्तर्गत डोल्पा जिल्ला अस्पताललाई समावेश गर्नुपर्ने मागसमेत उठाइएको छ। नागरिक समाजले प्रदेश सरकारद्वारा छनोट गरिएका अस्पतालहरूको सूचीमा डोल्पा नपरेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ।

समाजका प्रतिनिधिहरूका अनुसार उक्त संस्थाले गरेको अध्ययनमा डोल्पा अस्पताललाई प्राथमिकतामा राखिएको भए पनि प्रदेश सरकारको निर्णयले त्यसलाई समेट्न नसकेको गुनासो गरिएको छ।

डोल्पा भौगोलिक रूपमा अत्यन्त दुर्गम तथा सेवासुविधाको पहुँच सीमित रहेको क्षेत्र भएकाले आवश्यकताको आधारमा सूचीमा समावेश हुनुपर्ने तर्क नागरिक समाजले प्रस्तुत गरेको छ। समाजका प्रतिनिधिहरूले निर्णय प्रक्रियालाई पुनर्विचार गर्न आग्रह गर्दै समावेशी र आवश्यकता-आधारित छनोटको माग गरेका छन्।

Logo