काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित हाम्स अस्पतालले कोलोरेक्टल क्यान्सर सचेतना महिनाको अवसरमा निःशुल्क स्क्रिनिङ शिविर आयोजना गरेको छ। मार्च महिनालाई विश्वभर कोलोरेक्टल क्यान्सर सचेतना महिनाका रूपमा मनाइने सन्दर्भमा अस्पतालले हरेक वर्षझैं याेपटक पनि यो जनचेतनामूलक तथा स्वास्थ्य जाँच अभियान सुरु गरेको हो।
यही मार्च १५ तारिखदेखि सुरु भएको यो विशेष शिविर आगामी मार्च २७ सम्म सञ्चालन हुने हस्पिटल प्रशासनले जनाएको छ। “कोलोरेक्टल क्यान्सरको उपचारमा सबैको समान पहुँच” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ सञ्चालित यस शिविरमा सहभागी हुन चाहने सर्वसाधारणले निःशुल्क रूपमा प्रारम्भिक जाँच र परामर्श सेवा प्राप्त गर्न सक्नेछन्।
कोलोरेक्टल क्यान्सर ठूलो आन्द्रा (कोलोन) वा मलाशयबाट सुरु हुन्छ, जुन पाचन प्रणालीको अन्तिम भाग हो। यी क्यान्सरहरूलाई एकसाथ कोलोरेक्टल क्यान्सर भनिन्छ।
चिकित्सकहरूका अनुसार कोलोरेक्टल क्यान्सर पछिल्लो समयमा देखा परिरहेको एक गम्भीर स्वास्थ्य समस्या हो, जसको समयमै पहिचान हुन सकेमा पूर्ण उपचार सम्भव छ। विशेषगरी ५० वर्ष उमेर नाघेका व्यक्तिहरू, परिवारमा कसैलाई क्यान्सर भएको इतिहास भएकाहरू र लामो समयदेखि पेट सम्बन्धी समस्या वा दिसामा रगत देखिने जस्ता लक्षण भएका व्यक्तिहरू यो क्यान्सरको उच्च जोखिममा रहने गर्दछन्।
शिविर अवधिभर हस्पिटलमा दिसा गर्ने बानीमा आएको परिवर्तन, पेटमा हुने असजिलोपन, रक्तअल्पता र अकारण तौल घट्ने जस्ता समस्या भएका बिरामीहरूलाई प्राथमिकताका साथ जाँच गरिनेछ। स्थापनाको २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा हाम्स हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ।
उक्त निःशुल्क शिविरमा सहभागी हुन इच्छुक व्यक्तिहरूले धुम्बाराहीस्थित हस्पिटलको कार्यालयमा सिधै सम्पर्क राख्न वा फोन नम्बर ०१-४३७७४०४ मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन्।





























प्रतिक्रिया