जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्यमा विशेष ध्यान

जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्यमा विशेष ध्यान

केन्द्रबिन्दु
6
Shares

मुगु । जुम्ला जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले २०८२ चैत १० गते मंगलबार स्वास्थ्य जाँच गरिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय तथा जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले ६२ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको हो ।

परीक्षणका क्रममा सामान्य शारीरिक जाँचसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याको पहिचान गरिएको थियो । कारागार जस्तो सीमित वातावरणमा लामो समय बस्दा देखिन सक्ने तनाव, चिन्ता, डिप्रेसन र अनिद्रा लगायतका मानसिक स्वास्थ्य समस्याको मूल्यांकन गरी आवश्यक परामर्श समेत प्रदान गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जानकारी दिए ।

उनका अनुसार मानसिक स्वास्थ्य परीक्षणका क्रममा कैदीबन्दीलाई सकारात्मक सोच, आत्मबल वृद्धि तथा तनाव व्यवस्थापनका उपायबारे परामर्श गरिएको छ । परीक्षणका क्रममा केही कैदीबन्दीमा सामान्य रोगका लक्षण देखिएपछि तत्काल औषधि वितरण गरिएको छ भने जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ।

कारागारमा रहेका ७६ जना कैदीबन्दीमध्ये ६२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। तीमध्ये २१ जनालाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गरिएको, ९ जनालाई क्षयरोग परीक्षणका लागि सिफारिस गरिएको र १० जनामा उच्च रक्तचाप देखिएको छ । कार्यालय प्रमुख शर्माका अनुसार कारागारभित्र रहेका नागरिकहरू पनि राज्यका समान अधिकार प्राप्त नागरिक भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिन यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनेछ ।
विश्व क्षयरोग दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा कैदीबन्दीहरूलाई फलफूल समेत वितरण गरिएको थियो । साथै, गएको पुस महिनामा पनि यस्तै स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

Skip This
Skip This
Logo