एक अनमीको भरमा प्रसूति सेवा, सुरक्षित मातृत्वमा प्रश्न

एक अनमीको भरमा प्रसूति सेवा, सुरक्षित मातृत्वमा प्रश्न

केन्द्रबिन्दु
0
Shares

सिरहा। नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह एक जना अनमीको भरमा सञ्चालन भइरहेका कारण सेवा जोखिमपूर्ण बनेको छ।

स्वास्थ्य संस्थामा सामान्यतया कम्तीमा दुई जना स्टाफ नर्स, एक स्वास्थ्य सहायक र एक कार्यालय सहयोगी आवश्यक पर्ने भए पनि यहाँ छैटौँ तहकी अनमी टीकादेवी ढुङ्गेल मात्र कार्यरत छन्। उनी नै चौबिसै घण्टा प्रसूति सेवा दिन बाध्य छन्।

स्थानीय स्वास्थ्यकर्मीका अनुसार प्रसूतिगृहमा भौतिक पूर्वाधार भए पनि दक्ष जनशक्ति अभावका कारण सेवा प्रभावित भएको छ। चालु आर्थिक वर्षको नौ महिनामा यहाँ मात्र १९ जना महिलाले सुत्केरी सेवा लिएका छन्।

रातको समयमा आपतकालीन प्रसूति अवस्था आउँदा एक जनाको भरमा सेवा दिनु निकै कठिन हुने वर्छवा स्वास्थ्यचौकी प्रमुख महेशकुमार रजकले बताएका छन्। “राति सुत्केरी केस आउँदा व्यवस्थापन नै चुनौतीपूर्ण हुन्छ,” उनले भने।

वर्षौँदेखि एक्लै सेवा दिँदै आएकी अनमी ढुङ्गेलले पनि रातको समयमा काम गर्दा डर र जोखिम दुवै हुने बताएकी छन्।

यता स्थानीयवासीले गाउँपालिकाले स्वास्थ्यकर्मीलाई आवश्यक स्थानमा खटाउन नसकेको आरोप लगाएका छन्। केही स्वास्थ्यकर्मी प्रशासनिक काममा खटाइएका कारण प्रसूति सेवामा जनशक्ति अभाव भएको उनीहरूको भनाइ छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने जनशक्ति अभावकै कारण समस्या भएको दाबी गर्दै छिट्टै थप व्यवस्थापन गर्ने आश्वासन दिएका छन्।

स्थानीयले भने तत्काल स्वास्थ्यकर्मी व्यवस्था गरी प्रसूतिगृहलाई पूर्ण रूपमा सञ्चालन गर्न माग गरेका छन्।

Logo