जनकपुरधाम। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१र८२ ले मधेस प्रदेशमा बालमृत्यु, कुपोषण र शिक्षामा पहुँचसम्बन्धी अवस्था अझै चिन्ताजनक रहेको देखाएको छ।
प्रतिवेदनअनुसार मधेसमा नवजात शिशु मृत्युदर प्रति १,००० जन्ममा २० र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३३ पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा उच्च हो। कुपोषणको अवस्थासमेत गम्भीर देखिएको छ। उमेरअनुसार तौल कम भएका बालबालिका २३।२ प्रतिशत र उचाइ कम भएका ३१।१ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ।
शिक्षामा पनि उल्लेखनीय चुनौती देखिएको छ। विभिन्न तहमा ८ देखि २२ प्रतिशतसम्म बालबालिका विद्यालय बाहिर रहेको र प्रारम्भिक बाल शिक्षामा सहभागिता दर केवल २६।३ प्रतिशत मात्र रहेको प्रतिवेदनमा उल्लेख छ।
स्वास्थ्य सेवामा पहुँच कमजोर देखिएको छ। नियमित गर्भवती जाँच गराउने महिलाको दर सीमित रहेको र स्वास्थ्य बिमा गर्ने संख्या पनि अत्यन्त न्यून रहेको तथ्याङ्कले देखाएको छ। त्यस्तै, किशोरी प्रजनन दर उच्च रहनु पनि थप चुनौतीका रूपमा देखिएको छ।
यद्यपि, विद्युत्, टेलिफोन र इन्टरनेट पहुँचमा भने सुधार देखिएको छ। खानेपानी पहुँच उच्च भए पनि पानीमा जीवाणु भेटिनु स्वास्थ्य जोखिमको संकेतका रूपमा उल्लेख गरिएको छ। सर्वेक्षणले मधेस प्रदेशमा विकास भए पनि मानव विकास सूचकाङ्कका मुख्य क्षेत्रमा अझै ठूलो सुधार आवश्यक रहेको देखाएको छ।





























प्रतिक्रिया