काठमाडौं । भारतको प्रसिद्ध स्वास्थ्य संस्था एपोलो अस्पतालले काठमाडौँमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी क्यान्सर सर्जरी (सर्जिकल अंकोलोजी) र स्नायु उपचार (न्यूरोलोजिकल केयर) को क्षेत्रमा भएका अत्याधुनिक वैश्विक प्रगतिहरूबारे जानकारी गराएको छ।
अस्पतालले चिकित्सा विज्ञानमा भित्रिएका नयाँ प्रविधि र उपचार पद्धतिहरूका कारण जटिल मानिने क्यान्सर र मस्तिष्कसम्बन्धी रोगहरूको उपचार अब थप प्रभावकारी, सुरक्षित र सफल बन्दै गएको प्रस्ट पारेको हो। कार्यक्रममा ग्यास्ट्रोइंटेस्टाइनल तथा हेपाटोप्यान्क्रियाटोबिलियरी (एचपिबी) सर्जिकल अंकोलोजीका लिड कन्सल्टेन्ट डा. निखिल अग्रवाल, न्यूरोसर्जरीका वरिष्ठ कन्सल्टेन्ट डा. शशांक सरद काले तथा न्यूरोसर्जरी एवं न्यूरोइन्टरभेन्सनका कन्सल्टेन्ट डा. अंकित जैनले सम्बोधन गरेका थिए।
अस्पतालका अनुसार ग्यास्ट्रोइंटेस्टाइनल, कलेजो, पित्तथैली तथा प्यान्क्रियाजसम्बन्धी क्यान्सरहरू प्रायः अन्तिम चरणसम्म लक्षणविहीन रहने भएकाले विगतमा बिरामीहरूले जटिल तथा उच्च जोखिमयुक्त शल्यक्रियाको सामना गर्नुपर्थ्याे । तर रोबोटिक सर्जरीको विकाससँगै अब साना प्वालमार्फत अत्यन्त सटिक ढंगले जटिल शल्यक्रिया सम्भव भएको छ। यसले बिरामीको पीडा कम गर्ने, अस्पताल बसाइ छोट्याउने तथा छिटो स्वास्थ्य लाभ गर्न सहयोग पुर्याउने बताइएको छ।
बहुविषयगत विशेषज्ञ टोलीको समन्वय र शल्यक्रियासँगै योजनाबद्ध रूपमा गरिने अन्य उपचार विधिले स्वास्थ्य सेवाको गुणस्तर थप उकासेको अस्पतालको दाबी छ। स्नायु उपचार क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको बताइएको छ। न्यूरोनेभिगेसन, सर्जिकल माइक्रोस्कोप तथा इन्डोस्कोपिक प्रविधिको प्रयोगले ब्रेन ट्युमरको शल्यक्रिया अझ सुरक्षित र प्रभावकारी बनेको छ। साथै, एपोलो दिल्लीमा रहेको भारतकै पहिलो ‘ज्याप–एक्स’ स्टेरियोट्याक्टिक रेडियोसर्जरी प्रणालीले केन्द्रित विकिरणमार्फत बिना शल्यक्रिया उपचारको विकल्प उपलब्ध गराएको अस्पतालले जनाएको छ।
स्ट्रोक (मस्तिष्कघात) उपचारमा पनि मिनिमली इन्भेसिभ इन्डोभास्कुलर प्रविधि तथा फङ्सनल न्यूरोसर्जिकल हस्तक्षेपले बिरामीलाई नयाँ उपचार विकल्प प्रदान गरिरहेको जानकारी दिइयो।
कार्यक्रममा बोल्दै डा. शशांक शरद कालेले ब्रेन ट्युमरको सफल उपचारका लागि प्रारम्भिक पहिचान अत्यन्त महत्वपूर्ण हुने बताए। लगातार टाउको दुख्ने, कारणबिनै बान्ता हुने, धमिलो वा दोहोरो देखिने, छारे रोगजस्तो काम्ने तथा हातखुट्टा कमजोर हुने जस्ता लक्षण देखिए तुरुन्त विशेषज्ञको परामर्श लिन उनले सुझाव दिए।
उनका अनुसार न्यूरोनेभिगेसन, सर्जिकल माइक्रोस्कोप, क्युसा तथा मिनिमली इन्भेसिभ इन्डोस्कोपिक प्रविधिले स्वस्थ मस्तिष्कका तन्तुलाई न्यून क्षति पुर्याउँदै ट्युमर हटाउन मद्दत गरिरहेका छन्। साथै, ज्याप–एक्ससहितका स्टेरियोट्याक्टिक रेडियोसर्जरी प्रविधिले निश्चित प्रकारका ब्रेन ट्युमरका लागि बिना शल्यक्रिया उपचारको सम्भावना बढाएको उनले बताए।
त्यसैगरी डा. निखिल अग्रवालले क्यान्सर प्रायः अन्तिम चरणसम्म लक्षणविहीन रहने भए पनि उपचारको सम्पूर्ण दृष्टिकोणमा परिवर्तन आएको बताए। उनका अनुसार रोबोटिक सर्जरी, बहुविषयगत विशेषज्ञ टोली र समयमै प्रदान गरिने थेरापीको संयोजनले बिरामीलाई निको हुने सम्भावना उल्लेखनीय रूपमा बढाएको छ।
सही समयमा उपयुक्त स्वास्थ्य केन्द्रमा पुग्ने बिरामीको निको हुने सम्भावना धेरै हुने उल्लेख गर्दै उनले जटिल रक्तनलीसम्बन्धी समस्याहरूलाई न्यूनतम चिरफारबाट उपचार गर्न सकिने र डीप ब्रेन स्टिमुलेसनजस्ता प्रविधिले बिरामीको जीवनस्तर सुधार गरिरहेको बताए । उनले न्यूरोइन्टरभेन्सनको भविष्य अझ आशालाग्दो बन्दै गएको उल्लेख गरे ।





























प्रतिक्रिया