११ जिल्लामा फैलियो बर्डफ्लु, झन्डै ६ लाख पन्छी नष्ट

११ जिल्लामा फैलियो बर्डफ्लु, झन्डै ६ लाख पन्छी नष्ट

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । पन्छीमा लाग्ने बर्डफ्लु (एच फाइभ एन वान) ११ जिल्लामा फैलिएको छ। पशु सेवा विभागको तथ्यांकअनुसार पछिल्लो पटक काभ्रेमा पनि बर्डफ्लु पुष्टि भएको छ। काभ्रेको साँगा र पनौतीमा रहेका दुई फार्मका कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि भएको हो।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे गरी ११ जिल्लाका कुल ८२ स्थानमा बर्डफ्लु पुष्टि भएको छ।

अहिले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ। अहिलेसम्म बर्डफ्लुबाट प्रभावित ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी नष्ट गरिएको विभागको तथ्यांक छ । त्यस्तै, ९ लाख ८९ हजार ३ सय १३ वटा अन्डा र १ लाख ९५ हजार ४ सय ८५ किलो दानासमेत नष्ट गरिएको छ।

केही दिनअघि जावलाखेलस्थित सदर चिडियाखानामा रहेका पन्छीमा समेत बर्डफ्लु पुष्टि भएपछि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको छ। विभागका अनुसार ४ चैतमा मोरङको सुन्दरहरैंचा–४ र उर्लाबारी–८ बाट बर्डफ्लु देखिएको थियो। रोग नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ ।

Logo