काठमाडौं । नेपालका ११ जिल्लाका ८७ स्थानमा बर्डफ्लु फैलिएको छ, जसका कारण करिब ६ लाख पन्छी, ९ लाखभन्दा बढी अन्डा र ठूलो मात्रामा दाना नष्ट गरिएको छ।
किसानहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ भने क्षतिपूर्ति वितरणमा ढिलाइ हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको गुनासो गरेका छन्।
सरकारले बजार मूल्यको ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरे पनि बजेट अभावका कारण राहत वितरणमा समस्या देखिएको छ।
ललितपुरको गोदावरी नगरपालिका दमाईटारका दीपेन्द्र अश्रुमालीको फार्ममा बर्डफ्लुका कारण ५७ सय कुखुरा गत साता नष्ट गरियो। दीपेन्द्रले आफ्नो फार्ममा रहेको ३५ क्विन्टल दाना र १ हजारजति अन्डासमेत नष्ट गरे । तर पनि सरकारले राहत दिने भनेकाले उनले हरेस खाएका छैनन्। ‘झन्डै ६० लाख जतिको क्षति भयो होला, तर सरकारले ७५ प्रतिशत क्षतिपूर्ति दिने भनेकाले राहत मिल्ने ठानेको छु,’ उनले भने।
चैत ४ मा मोरङको सुन्दरहरैंचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लुको ‘हटस्पट’ बनिरहेको छ, अहिले काठमाडौं उपत्यका। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार बुधबार मात्र काठमाडौं उपत्यकाका ५ ठाउँमा बर्डफ्लु देखिएको छ। अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे गरी ११ जिल्लाका ८७ स्थानमा बर्डफ्लु पुष्टि भएको छ।
काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र ‘सक्रिय केस’ रहेको विभागले जनाएको छ। बर्डफ्लुबाट प्रभावित करिब ६ लाख पन्छी नष्ट गरिएको विभागको तथ्यांक छ। त्यस्तै ९ लाख ८९ हजार ३ सय १३ वटा अन्डा र १ लाख ९५ हजार ४ सय ८५ किलो दानासमेत नष्ट गरिएको छ।
केही दिनअघि जावलाखेलस्थित सदर चिडियाखानामा रहेका पन्छीमा समेत बर्डफ्लु पुष्टि भएपछि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको छ। हालसम्म चिडियाखानामा साना–ठूला गरी ३७ पशुपन्छी मरिसकेका छन् भने २४ वटामा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो पटक चाँगुनारायणमा ३, सूर्यविनायक र टोखामा १/१ ठाउँमा संक्रमण पुष्टि भएको छ।
चाँगुनारायण नगरपालिकाको वडा २, ८ र ९ मा पालिएका ३८ हजार ७ सय ९५ कुखुरा नष्ट गरिएका छन् भने सूर्यविनायक नगरपालिकाको १, ४ र ८ मा ९ हजार ३ सय ७८ कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालय, ललितपुरका पशु चिकित्सक डा. अमिक श्रेष्ठले जानकारी दिए। सूर्यविनायक नगरपालिकामा रोगका कारण धेरै कुखुरा पहिले नै मरिसकेको उनले बताए। अहिले लोकल तथा लेयर्स कुखुरामा यो रोग देखिएको र ब्रोइलरमा भने कम सरेको डा. श्रेष्ठको भनाइ छ।
बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहतसम्बन्धी मापदण्ड २०७९ अनुसार किसानले सरकारबाट क्षतिपूर्ति पाउनेछन्। क्षतिपूर्ति बजारमूल्यअनुसार निर्धारण हुने उल्लेख छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने दररेट निर्धारण समितिको सिफारिसका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानलाई राहत दिइने व्यवस्था छ।
तर यस पटक अनुमान गरिएभन्दा बढी संक्रमण फैलिएकाले बजेट अभाव रहेको विभागका महानिर्देशक डा. दाहाल बताउँछन्। ‘यस पटक अनुमान गरिएभन्दा धेरै क्षति भयो, त्यसैले बजेट पुगेन,’ उनले भने, ‘हामीले राहतका लागि रकमान्तर गरेर रकम उपलब्ध गराउन कृषि, वन तथा पर्यावरण मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेका छौं।’
चैतमा मोरङबाट सुरु संक्रमणले ६० करोड रुपैयाँबराबरको प्रत्यक्ष क्षति भएको विभागको अनुमान छ। महानिर्देशक डा. दाहाल भन्छन्, ‘यो प्रत्यक्षतर्फको क्षतिको अनुमान मात्र हो, किसानहरू धेरै मर्कामा पर्नु भएको छ। बर्डफ्लु देखिएपछि कम्तीमा पनि दुई महिना फार्म बन्द हुन्छ, उहाँहरूको आम्दानीको चक्र नै खलबलिन्छ।’
चालु आर्थिक वर्षमा किसानलाई राहत उपलब्ध गराउने शीर्षकमा जम्मा २ करोड रुपैयाँ मात्र विनियोजन भएको महानिर्देशक दाहालले जानकारी दिए। बर्डफ्लु प्रभावित किसानलाई राहत दिन थप ५० करोड मागिएको उनले बताए। आगामी आर्थिक वर्षको बजेटमा भने किसानलाई राहत दिन ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बागमती प्रदेश सरकारले विपद्बाट हुने पशुपन्छीको क्षतिका लागि बजेट छुट्याउने गरेको छ। तर यस्तो राहत रकम नदोहोरिने गरी बाँड्नुपर्ने कानुनी प्रावधान छ। एच–नाइन, रानीखेत र इकोलाइ लगायतका रोगबाट पशुपन्छी मरेको अवस्थामा भने सरकारले राहत उपलब्ध गराउँदैन। यी रोगबाट पशुपन्छीलाई बचाउन सरसफाइ र व्यवस्थापनमा ध्यान दिन किसानलाई विभागले आग्रह गरेको छ।
बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी बाली विकास अधिकृत आविष्कार पौडेलले गत चैतसम्मको क्षतिपूर्ति दिइसकेको बताए । ‘विपद्बाट किसानलाई पशुपन्छीमा भएको क्षतिको राहतका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ छुट्याएको थियो, हामीले चैतसम्म भएका विभिन्न क्षतिको राहत दिइसकेका छौं,’ उनले भने, ‘चैतयताको भने आगामी आर्थिक वर्षको बजेटबाट राहत उपलब्ध गराइनेछ ।’
चैतदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु (एच५एन१) का कारण ठूलो क्षति व्यहोरेका कुखुरा किसानले अझैसम्म क्षतिपूर्ति पाएका छैनन्। गत चैत ४ मा मोरङको उर्लाबारी नगरपालिका–७ स्थित अठियाबारी कृषि फार्ममा अचानक कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो।
सोही दिन सुन्दरहरैंचा नगरपालिका–४ स्थित हलेसी महादेव कृषि फार्ममा पालिएका कुखुरामा पनि संक्रमण देखिएको थियो। त्यसको दुई दिनपछि, चैत ६ मा सुनसरीको इटहरी उपमहानगरपालिका–१४ स्थित ओको कृषि फार्ममा बर्डफ्लु पुष्टि भयो। चैत ७ मा झापाको दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्ममा पनि संक्रमण भेटियो।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका अनुसार २०८२ चैतयता सुनसरीका २३, मोरङका १४ र झापाका ४ कृषि फार्ममा संक्रमण पुष्टि भएको छ। निर्देशनालयका अनुसार तीन जिल्लामा गरी ४ लाख १२ हजार ९ सय ५४ वटा कुखुरा, ६ लाख २ हजार १ सय ५५ वटा अन्डा र १ लाख ५७ हजार ७८ किलोग्राम दाना नष्ट गरिएको छ।
सहायक मत्स्य विकास अधिकृत महेश कटुवालका अनुसार सुनसरीमा सबैभन्दा बढी २ लाख ८६ हजार ९ सय २१ वटा कुखुरा, ३ लाख ७७ हजार ८० वटा अन्डा र १ लाख २१ हजार ७ सय ७५ किलोग्राम दाना नष्ट हुँदा करिब २९ करोड २३ लाख ९३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । मोरङमा १ लाख २ हजार ९ सय ४३ वटा कुखुरा, १ लाख २७ हजार ६ सय २५ वटा अन्डा र २४ हजार ८ सय ३८ किलोग्राम दाना नष्ट गरियो ।
झापामा २० हजार ९० वटा कुखुरा, ९७ हजार ४ सय ५० वटा अन्डा र १० हजार ४ सय ६५ किलोग्राम दाना नष्ट गरिएको छ। यसबाट करिब २ करोड ९६ लाख ४ हजार रुपैयाँ बराबरको क्षति भएको निर्देशनालयले जनाएको छ। तीन जिल्लामा गरी कुल ५० करोड ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको निर्देशनालयले जनाएको छ।
तर किसानको क्षतिको विवरण पशु सेवा विभागमा पठाइए पनि हालसम्म राहत रकम उपलब्ध हुन सकेको छैन। ‘हामीले क्षतिको विवरण संकलन गरेर सिफारिससहित विभागमा पठाइसकेका छौं,’ सहायक मत्स्य विकास अधिकृत कटुवालले भने, ‘तर, किसानले अझै क्षतिपूर्ति पाएका छैनन्।’





























प्रतिक्रिया