काठमाडाैं । भक्तपुर चाँगुनारायणकी ४५ वर्षीया शान्ति रावत सामान्य रूपमा जीवनयापन गर्दै थिइन्। उनलाई पहिले पनि कहिलेकाहीँ टाउको दुख्ने, रिंगटा लाग्ने र शरीर कमजोर हुने समस्या देखिन्थ्यो तर औषधि सेवनपछि ठीक हुने भएकाले त्यति गम्भीर रूपमा लिइएको थिएन।
तर एकदिन उनी आफ्नी बहिनीको घर खरिपाटी गएको बेला अचानक बेहोस भइन् र अवस्था एक्कासी जटिल बन्दै गयो। उनी भुइँमा नठोक्किएर कुर्सीमै ढल्न पुगेकी कारण ठूलो चोटबाट जोगिइन्। त्यसपछि उनलाई तत्काल होसमा ल्याउने प्रयास गरियो तर अवस्था नफर्किएपछि एम्बुलेन्समार्फत साँझ साढे आठ बजे काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पुर्याइयो।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा पुगेपछि चिकित्सकहरूले तुरुन्तै उनको अवस्था मूल्याङ्कन गरे। सीटी स्क्यान लगायत सबै आवश्यक परीक्षण गर्दा मस्तिष्कको देब्रे भागमा रक्तस्राव भएको स्पष्ट देखियो। अवस्था गम्भीर भएकाले तत्काल न्युरोइन्टरभेन्सन विधिबाट उपचार गर्ने निर्णय गरियो।
डा. अरुण पौडेलको नेतृत्वमा रहेको न्युरोइन्टरभेन्सन टोलीले क्याथल्याबमा एन्जियोग्राफी गरेर थप जाँच गर्दा दिमागको रक्तनलीमा “बेलुन” अर्थात् एन्युरिज्म रहेको पुष्टि भयो। त्यो संरचना ठूलो र जोखिमपूर्ण भएकाले उपचार अत्यन्त संवेदनशील थियो। परिवारसँग सल्लाहपछि शीर नखोली तार विधिबाट, अर्थात् कोइल र स्टेन्टको सहायताले रक्तनलीभित्रैबाट रक्तस्राव नियन्त्रण गर्ने उपचार गरियो। लामो र सूक्ष्म प्रक्रियापछि उपचार सफल भयो र रक्तस्राव नियन्त्रणमा आयो।
उपचारपछि केही दिनसम्म टाउको दुख्ने समस्या देखिए पनि विस्तारै शान्तिको अवस्था सुधार हुँदै गयो। जमेको रगत क्रमशः सोसिँदै गयो र उनी पूर्ण रूपमा होसमा फर्किइन्। केही समयपछि उनलाई पूर्ण रूपमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएकाे छ ।
अस्पतालको बसाइका क्रममा शान्तिले आफूलाई नयाँ जीवन प्राप्त भएको अनुभूति गरिन्। उनले उपचारमा संलग्न चिकित्सक र सम्पूर्ण स्वास्थ्यकर्मीप्रति भावुक हुँदै धन्यवाद व्यक्त गरिन्। आँसु झार्दै उनले भनिन्, “समयमै सही उपचार पाएर म बाँच्न सकेँ, तपाईंहरू मेरो लागि भगवान् समान हुनुहुन्छ।”
परिवारका सदस्यहरूले पनि शान्तिको जीवन बचाउन सफल भएको भन्दै सम्पूर्ण टोलीप्रति गहिरो आभार प्रकट गरे।
































प्रतिक्रिया